लोड हुँदैछ...

मेनु

संघीय संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै, मसलामा अन्तशुल्क लगाइँदै

संघीय संसदमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै, मसलामा अन्तशुल्क लगाइँदै

विराटनगर । सरकारले आज आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याउँदैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गतेका दिन बजेट ल्याउनै पर्ने हुन्छ । सोही अनुसार आज संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।

बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनका सांसदहरूका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र सरकारको सुशासनको मार्गचित्रलाई पनि बजेटको मूल आधार मानिएको छ ।

यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । सरोकारवाला निकायहरूको राय र सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो, जसलाई गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए । यसपटक सरकारले करिब २० खर्ब हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । साथै सरकारले मूल्य अभिवृद्धि करलाई बहुदरमा लैजाने र अन्तशुल्कको दायरा विस्तार गरी मसलाजन्य वस्तु र खाद्य पदार्थहरुमासमेत थप कर लाग्ने व्यवस्था गर्न लागेको समाचारहरु प्रकाशन भइरहेका छ । यस्तो भएमा नागरिकको भान्छा थप महंगिने छ भने जनताको जीवनयापनका लागि आर्थिक व्ययभार थपिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।