लोड हुँदैछ...

मेनु

ट्राफिक व्यवस्थापनका चुनौती र सवारी दुर्घटना न्यूनीकरणबारे प्रादेशिक गोष्ठी


विराटनगर । कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा देखिएका चुनौतीबारे छलफल गर्न सुनसरीको इटहरीमा ‘प्रादेशिक गोष्ठी २०८३’ सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको उक्त कार्यक्रममा सडक सुरक्षा र ट्राफिक नियम पालनामा देखिएका समस्याबारे गम्भीर समीक्षा गरियो ।

गोष्ठीमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ट्राफिक नियम थाहा पाएर पनि पालना नगर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको बताए । उनले बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अब ठोस कार्ययोजना बनाएर कार्यान्वयन गरिने जानकारी दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीले नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्याङ्क प्रस्तुत गरे । उनले पूर्वाधारयुक्त सडकको अभाव, अदक्ष चालक र सवारी साधनको खराब अवस्था ट्राफिक व्यवस्थापनका मुख्य चुनौती रहेको उल्लेख गरे । यस्तै, प्रहरी उपरीक्षक दिपक गिरीले ट्राफिक प्रहरीको कार्य सम्पादनमा अटोमेसन प्रणालीको अभाव र प्रविधिमैत्री जनशक्तिको आवश्यकता औंल्याए ।

गोष्ठीमा सहभागी जिल्ला ट्राफिक प्रमुखहरूले सवारी नियम उल्लंघन गर्ने चालकको अनुमति पत्र (लाईसेन्स) निलम्बन गर्ने प्रक्रियालाई कडाइका साथ लागू गर्नुपर्ने चुनौतीका बारेमा चर्चा गरे । उनीहरूले मापसे र लापसे (लागुपदार्थ सेवन) गरी सवारी चलाउने प्रवृत्ति रोक्नु र सडक सुरक्षाका लागि सरोकारवाला निकायहरूबीच समन्वय अभाव हुनुलाई मुख्य समस्याको रूपमा प्रस्तुत गरे ।

कार्यक्रममा सडक विभाग, यातायात व्यवस्था कार्यालय र यातायात व्यवसायीबीच समन्वय गरी सडक सुरक्षा सुदृढीकरण गर्ने, प्रविधिको विस्तार गर्ने र जनचेतना जगाउने विषयमा छलफल भयो । गोष्ठीमा १४ वटै जिल्लाका प्रहरी प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र यातायात मजदुर संघ-संगठनका प्रतिनिधि गरी २०० भन्दा बढीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।