विराटनगर — कोशी प्रदेशको सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको राजनीतिक भागबन्डाका आधारमा प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिवसहित ११ जना पदाधिकारी तथा सदस्यहरू नियुक्त भएका छन् । सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको भागबन्डाका आधारमा बुधबार राति सदस्य सचिवसहित ११ जना पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको हो ।
सामाजिक विकास मन्त्री रामप्रसाद महतोले एमालेबाट ५ र कांग्रेसबाट ६ जना रहने गरी बोर्डमा पदाधिकारी र सदस्यहरु नियुक्त गरेका हुन् । सरकारले कार्यकर्ता व्यवस्थापनकै लागि केही समयअघि मात्रै ‘प्रदेश खेलकुद’ (पहिलो संशोधन अध्यादेश–२०८१) जारी गरी बोर्डको सदस्य संख्यामा भारी वृद्धि गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार बोर्डको सदस्य सचिवमा एमाले निकट सुनसरी, इनरुवाका विप्लव घोष नियुक्त भएका छन् । त्यस्तै, बोर्डको महिला उपाध्यक्षमा एमालेबाट विराटनगरकी सन्तोषी श्रेष्ठ र पुरुष उपाध्यक्षमा नेपाली कांग्रेसका वसन्त अर्याललाई नियुक्त गरिएको छ । यसअघि बोर्डमा एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था थियो ।
सदस्यहरूमा एमालेका तर्फबाट विराटनगरकी बीना बस्नेत, केशव भट्टराई र किशोर विक्रम साह रहेका छन् भने नेपाली कांग्रेसको कोटाबाट टीकाराम पुरी, दुर्गा कठायत र बालजित राई नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्यकाल ४ वर्षको हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको नियुक्ति पत्रमा प्रदेश खेलकुद ऐन २०७६ पहिलो संशोधन अध्यादेश २०८१ समेतको दफा ११ को उपदफा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ । उनीहरूको कार्यकाल २०८३ जेठ १३ गतेदेखि लागू हुने गरी तोकिएको छ । मन्त्रालयल स्रोतका अनुसार अर्को लटमा पुन सदस्यहरु नियुक्त गर्ने तयारी गरेको छ ।
अध्यादेशमार्फत उपाध्यक्षको पद थपिनुका साथै सदस्यहरूको संख्या चार गुणाले बढाइएको छ । प्रदेश सभामा समेत टेबल भइसकेको उक्त अध्यादेशको सहारामा सरकारले जम्बो टोली नियुक्त गरेको भन्दै आलोचना समेत सुरु भएको छ । यसअघि सानो आकारको रहने बोर्डलाई राजनीतिक सन्तुलन मिलाउनकै लागि संरचना विस्तार गरिएको हो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।