लोड हुँदैछ...

मेनु

पार्टीभित्रको कुलिनतन्त्र अन्त्यको प्रयासमा छौँ ः महामन्त्री घिमिरे

पार्टीभित्रको कुलिनतन्त्र अन्त्यको प्रयासमा छौँ ः महामन्त्री घिमिरे


विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र जरा गाडेर बसेको ‘कुलिनतन्त्र’ लाई अन्त्य गरी कांग्रेसलाई आम कार्यकर्ताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् । प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री घिमिरेले पार्टी सिमित नेताहरूको मुठ्ठीमा कैद हुन थालेकाले यसलाई मुक्त गर्न आफूहरू लागिपरेको स्पष्ट पारे ।

राजनीति शास्त्री रोबर्ट मिचेल्सको कुलिनतन्त्रको फलामे कानुनको सन्दर्भ उल्लेख गर्दै घिमिरेले संस्थाहरू समयक्रममा केही सिमित व्यक्तिको स्वार्थमा चल्ने खतरा औँल्याए । ‘सुरुमा लोकतान्त्रिक देखिए पनि पछि पार्टीमा नातावाद र पैसाको बोलवाला बढ्ने र केही सिमित व्यक्ति हाबी हुने प्रवृत्ति देखियो,’ उनले भने, ‘हामीले कांग्रेसलाई यो अवस्थाबाट बाहिर निकालेर जहाँ न्याय, उचित मूल्याङ्कन र पारदर्शी निर्णय प्रक्रिया हुन्छ, त्यस्तो कांग्रेस बनाउन खोजेका हौँ ।’ उनले पार्टीमा अब मेरिटोक्रेसी (योग्यता प्रणाली) स्थापित हुनुपर्नेमा जोड दिए ।

पार्टीको ८ लाख ७२ हजार क्रियाशील सदस्यहरूको विवरणलाई आधुनिक र व्यवस्थित बनाउन प्रविधिको प्रयोग सुरु गरिएको उनले जानकारी दिए । नक्कली सदस्यहरू देखाएर पार्टी बलियो नहुने उनको तर्क छ । ‘हामीले एकै क्लिकमा सबै सदस्यसम्म सन्देश पुग्ने र सदस्यले आफ्नो विवरण आफैँ अध्यावधिक गर्न सक्ने एआई ) सहितको प्रणाली विकास गरेका छौँ,’ घिमिरेले भने । जेठ २१ गतेसम्म आफ्नो सदस्यता अध्यावधिक नगर्ने व्यक्तिले आगामी अधिवेशनमा वडा सभापति वा अन्य कुनै पनि पदमा उम्मेदवारी दिन नपाउने कडा व्यवस्था गरिएको उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।