इलाम । इलामको माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा लागू गरिएको छ ।
गाउँपालिकाले मंगलबारदेखि औपचारिक रूपमा लिम्बू भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सुरु गरेको हो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले घोषणापत्र वाचन गर्दै ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा आएको घोषणा गरेका हुन् । गाउँपालिकाका अनुसार माङसेबुङ क्षेत्रमा बहुसंख्यक नागरिकले बोल्ने लिम्बू भाषालाई किरात सिरिजङ्गा लिपिसहित सरकारी प्रयोगमा ल्याइएको हो ।
गाउँपालिकाको २०८३ वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकले लिम्बू भाषालाई कामकाजको भाषा बनाउने निर्णय गरेको थियो । अबदेखि गाउँपालिका तथा मातहतका कार्यालयहरूमा प्रयोग हुने बोर्ड, लेटरप्याड, सिफारिस, फाराम, सूचना तथा अन्य सरकारी कागजातमा नेपाली भाषासँगै लिम्बू भाषा र किरात सिरिजङ्गा लिपिको प्रयोग गरिने भएको छ ।
अध्यक्ष राईका अनुसार नेपालको संविधानले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्यले यो निर्णय गरिएको हो । संविधानको धारा ३, ६, ७(२) र धारा ३२ (१) तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) १ ले दिएको अधिकार प्रयोग गर्दै पालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गरेको जनाएको छ ।
पालिकाको यो निर्णयलाई भाषा संरक्षण, सांस्कृतिक पहिचान र मातृभाषाको प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । स्थानीयवासी तथा भाषा अभियन्ताहरूले माङसेबुङको पहलले अन्य स्थानीय तहलाई पनि मातृभाषा संरक्षण र प्रयोगमा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।