लोड हुँदैछ...

मेनु

पूर्वमुख्यमन्त्रीले रोस्ट्रम कब्जा गर्न खोजेपछि कोशी प्रदेश सभामा हंगामा

पूर्वमुख्यमन्त्रीले रोस्ट्रम कब्जा गर्न खोजेपछि कोशी प्रदेश सभामा हंगामा

विराटनगर । विपक्षीको अवरोधबीच सभामुखले सञ्चालन गर्न खोजेपछि कोशी प्रदेश सभाको बैठक बुधबार तनावग्रस्त बनेको छ ।

प्रतिपक्षी दलको विरोधबीच सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए ।

प्रतिपक्षी सांसदको सिटबाट उठेर रोस्ट्रमतर्फ पुगेका राईले माइक तान्ने तथा फाल्ने प्रयास गरेपछि मर्यादा पालकले उनलाई रोकेका थिए । त्यसपछि मर्यादा पालकले उनलाई नियन्त्रणमा लिँदै रोस्ट्रमबाट तल झारेका थिए ।

घटनापछि सभामुख विष्टले सांसदहरूलाई मर्यादित रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए । सदनमा केहीबेर चर्काचर्की र नाराबाजीसमेत भएको थियो ।

यसअघि मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता तथा छलफलका लागि पर्याप्त समय नदिई पारित गरिएको भन्दै प्रतिपक्षी दलले विरोध जनाएका थिए । बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिएको थियो । विपक्षीको विरोध जारी रहँदा सभामुख बिष्टले जनता समाजवादी पार्टीकी निर्मला लिम्बुलाई विशेष समयमा बोल्ने अनुमति दिएपछि विपक्षी सांसदहरु आक्रोसित बनेका थिए।

लगातारको अवरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।