विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ को १० महिनामा कुल बजेटको करिब ४० प्रतिशत मात्रै खर्च गरेको छ।
महानगरपालिकाले चालु आवका लागि ३ अर्ब ६५ करोड ५९ लाख ८० हजार रुपैयाँको संशोधित बजेट विनियोजन गरेकोमा साउनदेखि वैशाखसम्म ४० प्रतिशत हाराहारी मात्र खर्च गर्न सकेको हो ।
महानगरले चालुतर्फ १ अर्ब ८८ करोड १९ लाख ७६ हजार ५ सय रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ७२ करोड ४० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो। महानगरको आर्थिक शाखाका अनुसार वैशाख मसान्तसम्म चालुतर्फ कुल विनियोजित बजेटको ५५ दशमलव ०८ प्रतिशत अर्थात १ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ ।
पुँजीगततर्फ भने खर्च अत्यन्त न्यून देखिएको छ। वैशाखसम्म पुँजीगत बजेटको केवल २२ दशमलव ७८ प्रतिशत अर्थात ३९ करोड २७ लाख १६ हजार रुपैयाँ मात्रै खर्च भएको महानगरले जनाएको छ । वित्तीय व्यवस्थातर्फ विनियोजित ५ करोडमध्ये ४९ प्रतिशत अर्थात २ करोड ४५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
महानगरको समग्र बजेट खर्च वैशाखसम्म करिब ४० प्रतिशत पुगेको देखिएपनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने न्यून छ । यो वर्ष पनि विकास बजेट खर्च अन्तिम समयमा केन्द्रित हुने संकेत देखिएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।