लोड हुँदैछ...

मेनु

पुवाखोला हाइड्रोको सुरुङबाट पानी चुहिँदा सडक भासिएको आशंका

पुवाखोला हाइड्रोको सुरुङबाट पानी चुहिँदा सडक भासिएको आशंका

इलाम । मेची राजमार्गअन्तर्गत इलामको माईखोला–राजदुवाली सडकखण्डमा पहिरो र सडक भासिने समस्याको पुवाखोला जलविद्युत् आयोजना भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

जिल्ला प्रशासन कार्यालय इलाम, सडक डिभिजन कार्यालय तथा सरोकारवाला निकायको संयुक्त टोलीले गरेको स्थलगत अध्ययनमा जलविद्युत् आयोजनाको टनेलभित्र रहेको पेनस्टक पाइपबाट पानी चुहिएको कारण सडकमाथिको भूभाग कमजोर बन्दै गएको आशंका गरिएको हो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईसहित प्राविधिक टोलीले आयोजनाको सुरुङमार्गको करिब डेढ किलोमिटर क्षेत्र निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा झण्डै दुई सय मिटर क्षेत्रमा पेनस्टक पाइप चर्किएको र अत्यधिक पानी चुहिएको थियो ।

सडक डिभिजन प्रमुख भट्टराईका अनुसार सुरुङभित्र देखिएको ‘क्र्याक’ र पानी चुहावटले राजदुवाली क्षेत्रमा देखिएको ‘सिपेज’ समस्यासँग प्रत्यक्ष सम्बन्ध हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ। विस्तृत प्राविधिक अध्ययनका लागि उच्चस्तरीय टोली झिकाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

स्थानीयवासीले लामो समयदेखि जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिने गरेको गुनासो गर्दै आएका थिए। त्यसैका आधारमा प्रशासनले पहिलोपटक आयोजनाको संरचनामै पुगेर निरीक्षण गरेको हो।

पाइपभित्रको अवस्था अस्वाभाविक देखिएपछि अहिले हेडट्याङ्कमा जमेको माटो हटाउन पानी सुकाइएको छ। त्यहाँ पनि चर्किएको हुनसक्ने आशंका गरिएको छ।

२०७२ सालको भूकम्पपछि यस क्षेत्रमा पहिरो र सडक भासिने समस्या झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ। त्यसयता सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ भने पुनर्निर्माण गरिएका संरचना समेत फेरि क्षतिग्रस्त हुने क्रम रोकिएको छैन।

गत असोज १८ गतेको वर्षापछि यही सडकखण्डमा ठूलो पहिरो जाँदा मेची राजमार्ग १२ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। हाल माईखोलामाथि अस्थायी संरचना बनाएर सवारी सञ्चालन भइरहेको छ।

सडक डिभिजन कार्यालयले खोलाबाट करिब १० मिटर अग्लो ढलौट पर्खाल निर्माण, पाइपमार्फत पानी निकास तथा माथिल्लो भागको सडक जोगाउने काम गरिरहेको जनाएको छ। तर, निरन्तर वर्षा, बाढी र माथिबाट खस्ने पहिरोका कारण काम प्रभावकारी हुन सकेको छैन ।

मुख्य सडक पूर्ण रूपमा बन्द गर्न नसक्दा तथा वैकल्पिक सडकसमेत भरपर्दो अवस्थामा नरहेकाले पुनर्निर्माण कार्यमा ढिलाइ भइरहेको छ। राजदुवालीस्थित पुरानो माईखोला पुलको मर्मत कार्यसमेत जारी रहेको र करिब ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।

मेची राजमार्ग इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मुख्य सडक हो। सो सडक पटक–पटक सडक अवरुद्ध हुँदा यात्रु आवागमन, खाद्यान्न ढुवानी तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।