लोड हुँदैछ...

मेनु

सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेको भन्दै साम्पाङद्वारा बैठक बहिष्कार

सभामुखले प्रधानमन्त्रीलाई रुलिङ नगरेको भन्दै साम्पाङद्वारा बैठक बहिष्कार

विराटनगर। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद् बैठकमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै पुनः संसद् बहिष्कार गरेका छन् ।

प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन माग गर्दै आएका साम्पाङ बुधबार पनि बैठक सुरु हुनासाथ प्लेकार्ड देखाएर विरोध जनाएका थिए ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै साम्पाङले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग राखेका थिए । उनले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई बोलाउन रुलिङ गर्न माग गरे ।

साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले संसद्मा उठेका प्रश्नको ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसको पालना नगरेको आरोप लगाए । उनले सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्न नसक्ने हो भने आफूललाई बैठकबाट हटाउन माग गरे ।

सभामुख अर्यालले संसद् सञ्चालन र रुलिङ गर्ने विषय सभामुखको अधिकार क्षेत्रभित्र पर्ने भन्दै आफूलाई के विषयमा रुलिङ गर्ने वा नगर्ने भनेर सिकाउन आवश्यक नभएको बताएका थिए । सभामुखको उक्त अभिव्यक्तिपछि साम्पाङ असन्तुष्ट बन्दै आफ्नो कालो झोला भिरेर बैठक कक्षबाट बाहिरिएका हुन् ।

साम्पाङले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने र जनताका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै पछिल्ला दिनमा निरन्तर संसद्मा विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित रहँदै आएको भन्दै विपक्षी सांसदहरूले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।