विराटनगर । सरकारले निजी अस्पतालमार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डले आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुनेछन् । जेठ ११ गते बसेको बोर्ड बैठकले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै यस्तो निर्णय गरेको हो ।
यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल तथा मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित स्वास्थ्य सेवा प्रभावित हुने भएका छन् । आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ ।
सरकारले ‘सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच’ भन्ने उद्देश्यसहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण संकटमा परेको भन्दै आलोचना बढेको छ । बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक स्वास्थ्य संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
लामो समयदेखि निजी अस्पताललाई दिनुपर्ने रकम रोकिँदै आएपछि सेवा प्रदायक संस्थाहरू असन्तुष्ट बन्दै गएका थिए । निजी अस्पतालहरूले सरकारले स्वास्थ्य बीमावापतको दाबी रकम समयमै भुक्तानी नगरेको, प्रक्रियागत झन्झट बढाएको तथा बक्यौता थुप्रिएको भन्दै पटक–पटक गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई राजनीतिक प्रचारको विषय बनाइएको तर यसको वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपनमा पर्याप्त ध्यान नदिइएको टिप्पणी गरेका छन् । बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि स्वास्थ्य बीमा कार्यक्रम व्यवहारतः संकुचनतर्फ गएको विश्लेषण गरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।