लोड हुँदैछ...

मेनु

हावाहुरीका कारण सुनसरीमा एकको मृत्यु, झापामा लाखौंको क्षति

हावाहुरीका कारण सुनसरीमा एकको मृत्यु, झापामा लाखौंको क्षति

विराटनगर । सोमबार राति आएको पानीसहितको हावाहुरीका कारण सुनसरीमा एक युवकको मृत्यु भएको छ भने झापामा लाखौं रुपैयाँ बराबरको क्षति पुगेको छ ।

घरका छाना उड्नुका साथै कुखुरा फार्म, उद्योग, इँटा भट्टा, विद्युत् पोल तथा सवारीसाधनमा समेत क्षति पुगेको झापा प्रहरीले जनाएको छ ।

सुनसरीको दुहबी नगरपालिका–४ मलहटीस्थित भित्री सडकखण्डमा हावाहुरीले उडाएर ल्याएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा २८ वर्षीय मोहम्मद जाहिदको मृत्यु भएको हो । प्रहरीका अनुसार मोरङको बूढीगंगाबाट दुहबीतर्फ जाँदै गरेको को २९ प ८५४६ नम्बरको मोटरसाइकलमा वर्षासँगै आएको हावाहुरीले उडाएर ल्याएको जस्तापाता ठोक्किएको थियो ।

हावाहुरीपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक जाहिद गम्भीर घाइते भएका थिए । घाइते जाहिदलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उता झापामा हावाहुरीले विभिन्न स्थानमा व्यापक भौतिक क्षति पुर्‍याएको छ । गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा क्षति हुँदा ब्रोइलर कुखुरा मरेका छन् । उक्त घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हल्दीबारी गाउँपालिका–२ मा तीन जनाको घरको छाना उडाउँदा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । गौरादह–६ मा दुई घरको छाना उड्दा एक लाख ३० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

गौरादह–६ आरतीनगरमा मानबहादुर पराजुलीको भान्सा घरको छाना उडेर भित्र राखिएको २० मन धान र २० मन मकै भिज्दा करिब ८० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । हावाहुरीसँगै परेको चट्याङका कारण गौरादह–८ बैराती टोलमा इन्द्रमणि प्रसाईंका दुई घरमा आगलागी हुँदा टिभी, फ्रिज, सोलार, विद्युत् मिटर, तार तथा कागजात जलेर करिब एक लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले दमक नगरपालिका–१० मा गरिमा इँटा भट्टाको भवनको टिनको छाना उक्किएको छ भने मेचीनगर–१५ स्थित जय माँ कामाक्ष इण्डष्ट्रिज प्रालिको गोदाम तथा मेसको छाना उड्दा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै मेचीनगर–८ स्थित सूर्योदय कम्पनीको पार्किङ भवनको छाना उडेर दुई वटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बिर्तामोड नगरपालिका–३, ६ र ८ मा गरी सात वटा विद्युत् पोल ढल्दा केही सडक अवरुद्ध भएका थिए । विभिन्न स्थानमा रुख ढलेपछि स्थानीयवासीले काटेर सडक सञ्चालनमा ल्याएका छन् । बाह्रदशी गाउँपालिका–५ मागुगाउँमा पृथ्वीलाल राजवंशीको घरको टिनको छाना पूर्ण रूपमा उड्दा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।