विराटनगर । उदयपुरको कटारी अस्पतालमा शवको पोस्टमार्टमलाई लिएर उत्पन्न विवादपछि अस्पताल तनावग्रस्त बनेको छ । घटनापछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गौरव साहले राजीनामा दिएका छन् ।
कटारी नगरपालिका–२ गिद्धबारमा विद्यार्थी लिन जाँदै गरेको स्कूल बसबाट खसेर सहचालकको मृत्यु भएपछि शव व्यवस्थापन र पोस्टमार्टमको विषयमा विवाद चर्किएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बिहान सौगात एकेडेमी बोर्डिङ स्कुलको लु प्र ०१–००१ ख ०९८५ नम्बरको बस कटारी–१ बेलसोततर्फ जाँदै गर्दा बसको ढोकाबाट खसेर कटारी–२ का अन्दाजी ३१ वर्षीय उत्तम थापा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा प्रादेशिक अस्पताल कटारीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव समयमै पोस्टमार्टम नगरिएको र शवबाट दुर्गन्ध फैलिएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । त्यसपछि अस्पताल परिसर दिनभर तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव संरक्षणका लागि प्रयोग हुने फ्रिज सञ्चालनमा समस्या आएपछि शव राख्ने विषयमा विवाद बढेको थियो । प्रादेशिक अस्पताल कटारीका प्रमुख डा। गौरव साहले विद्युत् आपूर्तिमा आएको समस्याका कारण हालै जडान गरिएको शव संरक्षण फ्रिज प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । उनका अनुसार उपकरण मर्मत गर्ने प्रयास भइरहेका बेला केही व्यक्तिले आक्रोश व्यक्त गर्दै अस्पतालमा होहल्ला गरेका थिए ।
सोही घटनापछि उत्पन्न तनाव र विवादका कारण आफूले प्रादेशिक अस्पताल कटारी छाडेको डा। साहले बताएका छन् । उनी २०७३ फागुन २१ गतेदेखि अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।