विराटनगर । सुनसरी र उदयपुरको सीमावर्ती क्षेत्रमा पर्ने सप्तकोशी नदीबीचको टापुबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेक्वा अन्तर्गतको टोलीले आइतबार बिहान बराहक्षेत्र नगरपालिका–२ र बेलका नगरपालिका–८ टप्पुस्थित जंगल क्षेत्रमा खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा पाँच जना तथा सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमाण्डमा पाँच जना गरी १० सदस्यीय टोली रबर बोटसहित उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा प्रहरीले १६ बोरा गाँजाजस्तो देखिने वनस्पति बरामद गरेको जनाएको छ । नापतौल गर्दा बोरा सहित ४८० दशमलव ५२ केजी तथा बोरा बाहेक करिब ४७५ केजी गाँजा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा रबर बोटमार्फत ल्याएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।