काठमाडौं । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको मुख्य समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।
गणतन्त्र दिवसको विशेष समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय सरकारले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रिपरिषद्को निर्णयसहित राष्ट्रपतिलाई सम्बोधनका लागि औपचारिक अनुरोध पठाएको छ । मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उक्त पत्र बुझाएका थिए ।
गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपति भएकाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीभन्दा राष्ट्रपतिले सम्बोधन गर्नु उपयुक्त हुने निष्कर्ष सरकारको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पनि प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।
सरकारले संविधानको धारा ६६ को उपधारा २ अनुसार राष्ट्रपतिलाई समारोह सम्बोधन गर्न सिफारिस गरेको हो । उक्त धारामा मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट राष्ट्रपतिले कार्य सम्पादन गर्ने व्यवस्था छ ।
यसअघि हरेक वर्ष जेठ १५ गते टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना हुने गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । २०८२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, २०८१ र २०८० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, २०७९ मा शेरबहादुर देउवा तथा २०७८ मा केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री शाहले भने सम्बोधन नगर्ने निर्णय गरेपछि गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन सुन्ने चाहना पुरा नहुने भएको छ । प्रधानमन्त्री शाह सार्वजनिक समारोहमा बोल्न अनिच्छुक देखिँदै आएका छन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि उनले गणतन्त्र दिवस समारोह बहिष्कार गर्ने गरेका थिए । प्रधानमन्त्री बनेपछि समेत उनले संसददेखि सार्वजनिक कार्यक्रममा औपचारिक सम्बोधन गरेका छैनन् ।
प्रधानमन्त्री भएपछि शाहले नेपाली सेनाको कार्यक्रममा भने सम्बोधन गरेका थिए । प्रधानमन्त्रीले सपथ लिएपछि राष्ट्रपतिसँग शिष्टाचार भेट पनि गरेका छैनन् । गणतन्त्र दिवसमा सम्बोधनको लागि भेटेर आग्रह गर्नुपर्नेमा प्रशासनिक प्रक्रियामार्फत मुख्य सचिवबाट राष्ट्रपति कार्यालयमा पत्राचार गराएका छन् । यो प्रक्रियाप्रति राष्ट्रपति कार्यालय भने असन्तुष्ट देखिएको छ ।
“गणतन्त्रको प्रतीकका रूपमा राष्ट्रपतिले सम्बोधन गर्नुमा आपत्ति छैन, तर प्रक्रिया भने औपचारिक र सम्मानजनक हुनुपर्थ्यो,” राष्ट्रपति निकट स्रोतको भनाइ छ ।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।