लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनमा सयौं सवारी साधन जलेकोले झापा प्रहरी समस्यामा

जेनजी आन्दोलनमा सयौं सवारी साधन जलेकोले झापा प्रहरी समस्यामा

विर्तामोड । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रभाव झापाको सुरक्षा व्यवस्थामा अझै देखिन थालेको छ ।

आन्दोलनका क्रममा प्रहरीका २५ वटा सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएपछि दैनिक गस्ती, अनुसन्धान तथा आपराधिक घटनास्थलमा तत्काल पुग्न प्रहरीलाई कठिनाइ भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनका बेला प्रहरीका कुल १३२ वटा सवारी साधनमाथि आक्रमण भएको थियो । तीमध्ये १०७ वटा मर्मत गरेर पुनः सञ्चालनमा ल्याइए पनि २५ वटा सवारी साधन भने पूर्ण रूपमा ध्वस्त भएका छन् ।

आगो लगाएर नष्ट गरिएका सवारीमा दुई वटा प्रहरी वानटन, सात वटा हलुका चारपाङ्ग्रे सवारी र १६ वटा मोटरसाइकल रहेका छन् । क्षतिग्रस्तमध्ये दुई वटा वान टन, २५ वटा हलुका सवारी र ८० वटा मोटरसाइकल मर्मतपछि सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

सवारी अभावका कारण जिल्लाका विभिन्न प्रहरी इकाइमा गस्ती व्यवस्थापनदेखि आकस्मिक घटनामा तत्काल पुग्नसमेत समस्या देखिएको प्रहरी स्रोतको भनाइ छ । आन्दोलनपछि बिर्तामोड, दमक र कनकाई नगरपालिकाले अस्थायी रूपमा सवारी उपलब्ध गराएर सहयोग गरेका थिए । तर, कनकाई नगरपालिकाले दिएको गाडी केही दिनअघि फिर्ता लगेपछि समस्या झन् बढेको जनाइएको छ ।

आन्दोलनका क्रममा झापाका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका १३ वटा हतियार अझै फेला परेका छैनन् । प्रहरीका अनुसार हराइरहेका हतियारमध्ये सात वटा लामो र छ वटा छोटो हतियार रहेका छन् ।

जेनजी आन्दोलनका बेला कुल १०३ वटा हतियार लुटिएका थिए । तीमध्ये ९० वटा लामो र १३ वटा छोटो हतियार थिए । हालसम्म ९० वटा हतियार फेला परिसकेका छन् । फेला परेकामध्ये ८३ वटा लामो र सात वटा छोटो हतियार रहेका छन् । बाँकी हतियारको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड, दमक र झिलझिलेबाट १०२ जना थुनुवा फरार भएका थिए । घटना भएको करिब नौ महिना बितिसक्दा पनि ५५ जना अझै पक्राउ पर्न सकेका छैनन् ।

हालसम्म ४७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये चार जना साधारण तारेखमा छुटेका छन् भने १८ जना धरौटीमा रिहा भएका छन् । दुई जना हाजिरी जमानीमा छुटेका छन् । पुर्पक्षका लागि कारागार पठाइएका २३ जनामध्ये चार जना छुटिसकेका छन् भने १९ जना अझै कारागारमा रहेका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार आन्दोलनले झापाको सुरक्षा संरचनामै ठूलो क्षति पुर्‍याएको छ । सवारी साधन, हतियार र जनशक्तिमा परेको असरका कारण जिल्लाको सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य बन्न अझै समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।