विराटनगर। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । गत शुक्रबारको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा सुधार देखिएको हो ।
यस दिन नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.८५ अंक, फ्लोट इण्डेक्स १.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ३४२ स्टकको ७५ हजार ८५६ पटकको कारोबारबाट ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशतले बढेको छ । सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब ८.५ प्रतिशत बढ्दा अप्पर हेवाखोला हाइड्रोपावर र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि करिब ५.५ प्रतिशतले उकालो लागेको छ ।
यता, बुंगल हाइड्रोको शेयरमूल्य भने सर्वाधिक १०.३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावरको ३० करोड १७ लाख ५७ हजार रुपैयाँ तथा अपि पावरको १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूह मात्रै सामान्य घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढ्दा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।