विर्तामोड । बिर्तामोड क्षेत्रमा स्पा तथा मसाज सेन्टरको आडमा यौनजन्य गतिविधि सञ्चालन हुने गरेको गुनासोपछि प्रहरीले आकस्मिक छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठकको नेतृत्वमा शनिबार खटिएको टोलीले बिर्तामोडका विभिन्न स्पा सेन्टरमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार मसाज सेवाको नाममा अनियमित तथा यौन गतिविधि भइरहेको सूचनाका आधारमा कारबाही अघि बढाइएको हो । छापा बिर्तामोड–१ स्थित भाटभटेनी आसपासका कोहिनूर, होटल आनन्द एण्ड स्पा, बिर्तामोड–५ को हनुमान कम्प्लेक्सस्थित नेचर युनिसेक्स सैलुन एण्ड स्पा, मेघा कम्प्लेक्सका वारियर स्पा र द अब्सोलुट प्रोफेसनल स्पा एण्ड सैलुन तथा कृषिथोक रोडस्थित कर्मा स्पामा गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार कर्मा स्पाबाट सञ्चालिकासहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूको नाम भने अनुसन्धानकै क्रममा रहेकाले सार्वजनिक गरिएको छैन ।
अनुगमनका क्रममा प्रहरीले स्पा सञ्चालनसम्बन्धी कागजात, सेवा प्रकृति तथा व्यवसाय सञ्चालन प्रक्रियाबारे समेत सोधपुछ गरेको जनाएको छ । स्थानीय स्तरमा लामो समयदेखि स्पा व्यवसायको आडमा “हेप्पी इन्डिङ” नाम दिइने यौन सेवा सञ्चालन हुने गरेको गुनासो उठ्दै आएको थियो ।
ग्राहकसँग अतिरिक्त शुल्क लिएर यौन प्रकृतिका सेवा दिइने गरेको आरोपपछि प्रहरीले निगरानी बढाएको हो । प्रहरीले बिर्तामोड क्षेत्रमा सञ्चालनमा रहेका स्पा, होटल तथा डान्सबारमाथि नियमित निगरानी गरिने जनाएको छ । कानुनविपरीत गतिविधि फेला परे कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
स्थानीयवासीले दर्ताविहीन तथा नियमविपरीत सञ्चालन भइरहेका स्पामाथि दीर्घकालीन अनुगमन आवश्यक रहेको बताएका छन् ।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।