विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम राख्न ५ बुँदे प्रस्ताव अघि सारेका छन् ।
सभापति गगन थापासँग संवादमा रहेका कोइरालाले १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर मध्यमार्गी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने र १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । त्यस्तै, उनले १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बन्ने कार्यसमितिलाई समायोजन गरी एउटै संरचना बनाउनुपर्ने धारणा अघि सारेका छन् ।
कार्यसम्पादन समिति भने सभापतिको बहुमत रहने गरी गठन गर्नुपर्ने उनको प्रस्ताव छ । कोइरालाले निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका महत्वपूर्ण समितिहरू आपसी सहमतिमा मात्रै गठन गर्नुपर्ने बताएका छन् ।
सभापति गगन थापाले पनि पार्टी एकता कायम राख्न आफू लचक हुन तयार रहेको सन्देश दिँदै आएका छन् । उनले पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षलाई समेटेर १५औँ महाधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।
थापाले निवर्तमान सभापति पूर्णबहादुर खड्का र शेखर कोइरालालाई वरिष्ठ नेताको भूमिका दिन तयार रहेको सन्देशसमेत पठाइसकेको स्रोतले जनाएको छ । यसअघि असन्तुष्ट पक्षका १९ जना नेतालाई थापाले केन्द्रीय समितिमा मनोनित गरेका थिए ।





















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।