लोड हुँदैछ...

मेनु

पाँचथर बाढी–पहिरो : राहत र पुनर्निर्माणका लागि के गर्दैछ प्रदेश सरकार ?

पाँचथर बाढी–पहिरो : राहत र पुनर्निर्माणका लागि के गर्दैछ प्रदेश सरकार ?

विराटनगर । जेठ ८ गते परेको अविरल वर्षाका कारण पाँचथरको फालेलुङ र याङवरक क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥याएपछि कोशी प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणको पहल गर्ने बताएको छ । प्रदेश सरकारले क्षतिको यकिन विवरण संकलन भइरहेको र पीडितलाई राहत तथा आवास पुनर्निर्माणमा प्राथमिकता दिने बताएको हो ।

पाँचथरको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले सोमबार प्रदेश विपद् व्यवस्थापन समितिको बैठक आह्वान गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाबाट क्षतिको विस्तृत विवरण माग गरिएको छ भने प्रभावित क्षेत्रमा प्रदेशको टोली पनि जाने बताए । ‘हामीले सबै विवरण मगाएका छौँ । भोलिको बैठकले राहत, विस्थापितको स्थानान्तरण र क्षतिग्रस्त घर निर्माणबारे ठोस निर्णय लिनेछ,’ मन्त्री पराजुलीले भने । उनले गएको भदौ १७ र १८ गते इलाममा भएको क्षतिको पुनर्निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढेको सन्दर्भ जोड्दै पाँचथरका पीडितलाई पनि सोही अनुसार सम्बोधन गरिने बताए ।

पाँचथरबाट निर्वाचित सांसद इन्द्रबहादुर आङ्बोले पनि पाँचथरमा ठूलो समस्या निम्तिएको भन्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएको बताए । ‘मैले मुख्यमन्त्रीलाई त्यहाँको समस्याबारे जानकारी गराएको छु,’ आङ्बोले भने, ‘पाँचथरका पीडित जनतालाई तत्काल सम्बोधन गर्छु भन्नुभएको छ ।’

यसैबीच कोशी प्रदेश सभाको आइतबार बसेको बैठकमा पाँचथरका अरु दुई जना सांसदहरूले पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसद कमलप्रसाद जबेगुले याङ्वरक गाउँपालिकामा बाढीले निम्त्याएको संकटबारे जानकारी गराए । उनले लम्बा खोलाको बाढीले स्थानीय मोहनलाल खवास र कुबेर खवासको घरसहित चौपाया र अन्नपात बगाएको र ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बगर बनेको बताए ।

सांसद मैयाँ श्रेष्ठले राहत केवल घोषणामा मात्र सीमित हुन नहुने बताइन् । ‘सरकार जनताको अभिभावक हो, राहत प्रभावितको घरदैलोसम्म पुग्नुपर्छ,’ उनले भनिन्, ‘बिल्ड ब्याक बेटरको सिद्धान्त अनुसार क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण तत्काल थालिनुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिशकुमार कर्णका अनुसार बाढी र पहिरोले विशेषगरी सडक र पुलमा गम्भीर क्षति पु¥याएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत याङवरक–२ दोभानेमा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको छ । जसका कारण गणेश चोक–च्याङथापु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, तमोर करिडोरअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलको ३५० टन स्टिल ट्रस्टसहितका निर्माण सामग्री बाढीले बगाएको छ । बाढीले आधा दर्जन झोलुङ्गे पुलहरूमा क्षति पु¥याएको छ भने तीनवटा जलविद्युत् आयोजनाहरू (इङ्वा खोला, मेवा खोला र अरुण काबेली) मा क्षति पुग्दा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ ।

प्रहरीका अनुसार याङवरक–१ का मोहनलाल खवास, कबिर खवास र गङ्गाप्रसाद बेघाको परिवार पूर्ण रूपमा विस्थापित भएका छन् । उनीहरू हाल आफन्तको शरणमा बसिरहेका छन् । भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा रहेकाले सो परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । यसबाहेक कोप्चेटोल, चाम्लिङडाँडा र खोलाघारी क्षेत्रका करिब १५ भन्दा बढी घरहरू अझै पनि पहिरोको जोखिममा रहेका छन् ।

डीएसपी कर्णले मध्यपहाडी राजमार्गको ओयाम र रिजाल भिर खण्डमा खसेको पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिए । ‘अहिले वर्षा रोकिएको छ, तर सडक र पुल बगाएका कारण धेरै ठाउँमा सम्पर्क विच्छेद भएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।