विर्तामोड। झापाको काँकडभिट्टास्थित मेचीनगर नगरपालिका–६ को बसपार्क नजिकबाट प्रहरीले एक लाख १८ हजार रुपैयाँ नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापाको उद्धार गरिएको हो ।
अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ करिब ६ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा उनी फेला परेका थिए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले उनको उद्धार गरी तत्काल उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पठाएको थियो । उपचारपछि अस्पतालबाट डिस्चार्ज भए पनि थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
प्रहरीले थापाको साथबाट बरामद गरिएको १ लाख १८ हजार रुपैयाँ नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको जनाएको छ । मोबाइल नम्बरमार्फत सम्पर्क गर्न प्रयास गरिएपनि हालसम्म सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ ।
भारतबाट नेपाल फर्किएका थापाले नेपाल–भारत बस सेवामार्फत रात्रिबसबाट काठमाडौं जाने टिकटसमेत लिइसकेका थिए । अत्यधिक मादक पदार्थ सेवनका कारण उनी बस छुटेपछि सडकमा बेहोस अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।