लोड हुँदैछ...

मेनु

 मोरङमा लागूऔषधविरुद्ध महाअभियान सुरु

 मोरङमा लागूऔषधविरुद्ध महाअभियान सुरु

विराटनगर– जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा आजदेखि जिल्लाभर लागुऔषधविरुद्धको ‘महाअभियान’ सुरु भएको छ ।

अभियानको सुरुवातसँगै विराटनगरको महेन्द्र चोकबाट जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । बजार क्षेत्रको परिक्रमा गरी सहिद रंगशाला पुगेर प्रभातफेरी सभामा परिणत भएको छ । लागुऔषध नियन्त्रणलाई प्रहरीको कारबाहीमा मात्र सीमित नराखी व्यापक सामाजिक आन्दोलन बनाउने उद्देश्यले मोरङमा पहिलोपटक यस्तो बृहत् अभियान थालिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस अभियानको शुभारम्भ गर्दैछन् । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, गृह मन्त्रालयका राष्ट्रिय लागुऔषध नियन्त्रक सुमन घिमिरे तथा प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलगायतको सहभागिता छ ।
महाअभियानअन्तर्गत सरोकारवाला निकायहरूले नौ बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । यसमा स्थानीय तह, शैक्षिक संस्था र सुरक्षा निकायबीच समन्वय गरी लागुऔषधको जालो तोड्ने र सूचना संयन्त्रलाई प्रभावकारी बनाउने उल्लेख छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले अभियानलाई जिल्लाका सबै १७ वटै स्थानीय तहमा पुर्‍याइने जानकारी दिए । ‘हामीले वैशाख महिनामा मात्रै ३ सय ९७ जनालाई लागुऔषधको मुद्दामा पक्राउ गरेका छौँ, तर पक्राउ गरेर मात्र समस्या समाधान नहुने देखियो,’ एसपी कटवालले भने, ‘त्यसैले अब युवाहरूलाई खेलकुद, सिर्जना र जनचेतनासँग जोडेर यो महाअभियान सुरु गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।