विराटनगर । सुनसरीको लौकहीमा शुक्रबार आयोजित काँग्रेसको कोशी प्रदेशस्तरीय २ दिने परामर्श कार्यशालामा उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए । एमाले र काँग्रेसबीच यसअघि भएको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने तयारी भइरहँदा शर्माले यस्तो दावी गरेका हुन् । ‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडै गर्नेछ,’ उनले भने, ‘अहिले यसबारेमा धेरै बोल्न चाहन्नँ, तर अब कोशी प्रदेशको नेतृत्व कांग्रेसले गर्नेछ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’
अहिले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस चार मन्त्रालयसहित सहभागी छ । सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कुनै पनि प्रदेशमा स्पष्ट बहुमत नहुँदा दलहरूबीच आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार गठबन्धन सरकार सञ्चालन हुँदै आएका छन् । प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्न कांग्रेसले उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो । त्यसक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक संवाद गरिसकेको जनाइएको छ । तर, एमाले अध्यक्ष ओलीले कोशीमा आफ्नै दलको मुख्यमन्त्री बनाउनु पर्ने अडानमा छन् ।
उता, एमालेसँग मुख्यमन्त्रीको दाबी गरिरहेको काँग्रेस कोशी प्रदेश संसदीय दलको नेता र भावी मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा आफ्नै पार्टीभित्र एकमत हुन सकेको छैन ।
विशेष महाधिवेशनको छेको पारेर गगन थापा समूहमा पुगेका प्रदेश सांसद अमृत अर्याललाई दलको नेता बनाउने पक्षमा सभापति थापा थिए । तर, उपसभापति विश्वप्रकाश शर्माले हालकै दलका नेता उद्धब थापालाई आफ्नो समूहमा ल्याउँदै मुख्यमन्त्रीमा प्रस्ताव गरेको स्रोतको दाबी छ । ‘सहमति अनुसार नेतृत्व आलोपालो गर्नुपर्छ । अब कोशीमा कांग्रेसबाट उद्धव थापाजीले सरकारको नेतृत्व गर्नुहुनेछ,’ शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रस्ताव गरेका थिए, ‘आलोपालो प्रणाली अनुसार अघि बढौ अध्यक्षज्यू ।’
विश्वप्रकाशले यो प्रस्ताव राख्नुमा झापा कांग्रेसमा आफ्नो समूह बलियो बनाउनु र नेता कृष्णप्रसाद सिटौलालाई कमजोर बनाउनु मुख्य उद्देश्य रहेको बताइन्छ । दल नेता थापा पनि पछिल्लो समय विश्वप्रकाशकै योजनाअनुसार चलिरहेको अर्को पक्ष बताउँछ । यसअघि उद्धब थापा नेता कृष्ण सिटौलाको दाहिना थिए ।
तर, एकाएक मुख्यमन्त्रीको लोभमा संस्थापन पक्षमा आएर दलको नेतामा विराजमान हुने चाहना थापाले राखेपछि सभापति गगन पक्षधर सांसदहरु भने रुष्ट बनेका छन् । यसअघि प्रदेश सांसद तथा उदयपुर काँग्रेसका सभापति हिमाल कार्कीले दलको नेता अमृत अर्याल हुने बताएका थिए । अहिले भने यो विषयमा उनी स्पष्ट धारणा राख्दैनन् । ‘यो विषयमा अहिले नबोलौं, पछि कुरा गरौंला,’ उनी भन्छन् । यद्यपि उनले निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘दलको नेता फेर्न खोजेको हाम्रै समूहमा आएपछि त्यो एजेण्डा अब अर्को समूहको हातमा पुगेको छ ।’
२०८२ जेठमा डाक्टर शेखर कोइराला पक्षधरले विराटनगरमा आयोजित एक कार्यक्रममा अर्यालले कन्ट्रोभर्सी र प्रतिबद्ध नभएको जमातमा बस्दा आफूलाई हिनताबोध भएको भन्दै उद्धब थापा लक्षित कडा आलोचना गरेका थिए । त्यसबेला उनले उद्धब थापालाई सभापतिमा जिताउँदा र दलको नेतामा जित्ने मौका दिँदा ठूलो भूल गरेको भन्दै पश्चाताप पनि गरेका थिए । ‘मैले राजनीतिक जीवनमा धेरै काम गरेको छु । दुई पटक मोरङको सभापति भएँ । दुई पटक कन्द्रीय सदस्य र दुर्इं पटक माननीय भएँ । मलाई अहिले रिग्रेट फिल भएको छ,’ उनले भने, ‘मैले गुरु घिमिरेलाई हराएर उद्धबजीलाई प्रदेश सभापतिमा जिताउने काम गरें । त्यो मेरो राजनीतिक भूल थियो ।’ त्यसबेला काँग्रेसको पहिलो कोशी प्रदेश अधिवेशनमा अर्यालले गुरु घिमिरेलाई हराउन उद्धब थापालाई सघाएका थिए ।
उनले प्रदेश सांसदको रुपमा रहेपनि संसदमा बोल्न पनि नसकेको बताउँथे । ‘दलका नेता उद्धबजीलाई हामीले प्रस्ताव गरौं । कि जातीय पहिचानको पक्षमा उभिनु पर्यो कि कोशीको पक्षमा उभिनु पर्यो भनेको थिएँ । तर, पछि एमालेले गरेको निर्णयमा भोट हाल्यौं । यस्तो कन्ट्रोभर्सी, प्रतिबद्ध नभएको जमातमा बस्दा मलाई हिनताबोध पनि भएको छ ।’
तर, आफूले कन्ट्रोभर्सी र प्रतिबद्ध नभएको जमातको नेता भनेर आलोचना गरिरहेका उनै उद्धब थापालाई दलको नेता मान्नुपर्ने बाध्यता अर्यालको जिम्मेवारी बनेको छ । तीन दिन अगाडि विराटनगरमा बसेको कोशी प्रदेश संसदीय दलको बैठकमा पनि सांसद अर्यालले प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिका विषयमा गम्भीर असहमति राखेका थिए ।
‘कहाँबाट कसको सिफारिसमा राजनीतिक नियुक्ति भइरहेको छ ?,’ उनले दलको नेतालाई प्रश्न गरेको एक सांसद बताउँछन् । प्रदेश सरकारले मंगलबार कोशी प्रदेश लोकसेवा आयोगमा रिक्त रहेका दुई सदस्य पदमा कांग्रेसबाट रूपा थापा ओझा नियुक्त गरेको थियो । उक्त नियुक्ति काँग्रेस महामन्त्री गुरुराज घिमिरेको सिफारिसमा भएको स्रोत दाबी गर्छ । दलका नेता उद्धब थापाले भने झापाकै एक व्यक्तिको नाम सिफारिस गरेका थिए । दलको बैठकमा महामन्त्री घिमिरेले सिफारिस गरेको व्यक्तिलाई नै प्रदेश सरकारले नियुक्त गरेपछि असन्तुष्टि देखिएको थियो । अर्यालले त निकटस्थहरुलाई आफूहरु विशेष महाधिवेशन भनेर जोखिम मोलेर आएको भएपनि थापाले दलको नेताको पद हाइज्याक गर्न लागेको बताउने गरेका छन् ।
उद्धब थापालाई दलको नेताबाट हटाउनु पर्नेमा गगन पक्षकै नेताहरू रहेको स्रोत दाबी गर्छ । थापालाई नेताबाट हटाउनका लागि हिमाल कार्की, विनोद वान्तवा, अमृत अर्यालहरु लागेपनि अविश्वासको प्रस्ताव हाल्न उपर्युक्त संख्या नहुँदा रोकिएको स्रोत दाबी गर्छ । ‘उहाँहरू तपाईहरूले दर्ता गर्नुपर्यो भनेर आइरहनु भएको छ,’ इतर पक्षका एक सांसदले भने, ‘हामी भने उद्धब थापाको स्पष्टता खोजिरहेका छौं । उहाँ गगन पक्षमा लाग्नु भएकै हो कि होइन नेताहरुले क्लियर गरेपछि मात्रै हामी काम गर्छौं ।’
काँग्रेस संसदीय दल २९ सदस्यीय छ । जसमा डाक्टर शेखर कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका सांसदको संख्या दुई तिहाई रहेको स्रोत दाबी गर्छ । तर इतर पक्ष अहिले नै थापालाई हटाउने पक्षमा छैन । ‘हामी अहिले हटाउन लाग्दैनौं । पहिलो कुरा त नेताहरुले हामीलाई अब संसदीय मोर्चामा पनि हस्तक्षेप गर्नु भनेर भन्नुभएको छैन,’ एक नेताले भने ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।