लोड हुँदैछ...

मेनु

‘जेनजी’ भन्दै कोशी अस्पतालमा आतंक मच्चाउने सुमित कामत पक्राउ

‘जेनजी’ भन्दै कोशी अस्पतालमा आतंक मच्चाउने सुमित कामत पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आफूलाई ‘जेनजी’ समूहको व्यक्ति भन्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि अभद्र व्यवहार गर्ने एक युवा पक्राउ परेका छन्।

अस्पताल परिसरभित्र आतंक सिर्जना गरेको र स्वास्थ्यकर्मीहरूलाई दुर्व्यवहार गरेको आरोपमा विराटनगरका सुमित कामतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनलाई अस्पतालको प्रशासनिक क्षेत्रबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लिलाराज लामिछानेले जानकारी दिए।

‘कोशी अस्पतालभित्र चिकित्सकहरूमाथि अभद्र व्यवहार भइरहेको सूचना पाएलगत्तै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो,’ डिएसपी लामिछानेले भने, ‘अहिले उनीमाथि घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’

पक्राउ परेका कामत यसअघि पनि पटक–पटक अस्पताल पुगेर अनधिकृत रूपमा भिडियो र फोटो खिच्ने, आफू जेनजी समूहको भएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई थर्काउने र धम्क्याउने काममा संलग्न रहेको अस्पताल प्रशासनले जनाएको छ।
नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा कोशी अस्पतालका संयोजक डा. रोशन खड्काका अनुसार कामतले बिहीबार पनि ड्युटीमा रहेका चिकित्सकहरूको भिडियो खिच्दै अभद्र व्यवहार प्रदर्शन गरेका थिए। डा. खड्काले भने, ‘उनले चिकित्सकहरू समयमा नआएको भन्दै फोटो र भिडियो खिच्ने, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को राजीनामा माग्ने र स्वास्थ्यकर्मीहरूलाई हतोत्साहित पार्ने काम गर्दै आएका थिए। त्यसैले प्रहरीलाई खबर गर्न बाध्य भयौँ।’

कामतले चिकित्सकहरूलाई किन कारबाही नभएको भन्दै अस्पतालको कार्यसम्पादनमा अवरोध पुर्‍याउने र स्वास्थ्यकर्मीहरूलाई अनावश्यक तनाव दिने गरेको अस्पतालका कर्मचारीहरूको गुनासो छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अभद्र व्यर्वहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।