विराटनगर । कोशी प्रदेशमा उत्पादित उच्च मूल्यका कृषि उपजहरूको मूल्य श्रृंखला विकास गरी निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) को संयुक्त आयोजनामा शनिबार ‘उच्च मूल्य कृषिवालीको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवद्र्धन’ सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय विदुर लिङथेपले प्रदेशमा उत्पादित अलैंची, अदुवा र बेसार जस्ता वस्तुको उत्पादन वृद्धि र निर्यातका लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री लिङथेपले निजी क्षेत्रलाई उत्पादन वृद्धिका लागि आवश्यक पर्ने पूर्वाधार र सहयोगको स्पष्ट खाकासहित आउन आग्रह गरे । “निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ र आइएफसीले कसरी अगाडि बढ्ने भन्ने योजना ल्याएमा प्रदेश सरकार सहयोगी भूमिका खेल्न तयार छ,” उनले भने ।
आइएफसीका दक्षिण एशिया क्षेत्रका सिनियर अपरेशन अफिसर विजय शेकरले नेपाली उत्पादनहरू हाल भारतमा मात्र बढी निर्यात भइरहेको सन्दर्भमा अब तेस्रो मुलुकको बजार खोज्नुपर्नेमा जोड दिए । उनले निर्यातका क्रममा देखिने गुणस्तर र प्राविधिक समस्या समाधान गर्न आइएफसी र महासंघ मिलेर अगाडि बढ्ने योजना रहेको जानकारी दिए । यस्तै, आइएफसीका कन्सल्टेन्ट राजन शर्माले कोशी प्रदेशको कृषि तथ्यांक प्रस्तुत गर्दै निर्यात बढाउन अपनाउनुपर्ने नीतिगत सुधारबारे प्रस्तुतीकरण दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठले चिया, अलैंची, अदुवा, अम्लिसो, छुर्पी, चीज र जडीबुटी जस्ता वस्तुको निर्यात प्रवद्र्धन गर्न आइएफसीसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कार्यक्रममा सरकारी अधिकारीहरू पशुपति पोखरेल, मनोज यादव र पुष्पलाल राईले कोशी प्रदेशमा गुणस्तर परीक्षण गर्ने आधुनिक प्रयोगशालाको अभाव रहेको र बजार खोजीमा निजी क्षेत्रले सक्रिय पहल गर्नुपर्ने धारणा राखे ।
व्यवसायीहरू निर्मल भट्टराई र राजन आचार्यले आधुनिक ड्रयरको व्यवस्था र तेस्रो मुलुक निर्यातका लागि संघीय र प्रदेश सरकारले ठोस नीति बनाउनुपर्ने माग गर्नुभयो । युवा उद्यमीहरू प्रतिक राउत, युनेश श्रेष्ठ र अविनायक मल्लले उत्पादनको गुणस्तर सुधारका लागि महासंघको नेटवर्क प्रयोग गरी तालिम र प्रविधि हस्तान्तरणमा जोड दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश सरकारका विभिन्न महाशाखा प्रमुख, कृषि व्यवसायी र कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।