काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो ।
यो नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा दोस्रो ठूलो स्कोर हो भने कीर्तिपुर मैदानमा बनाएको अहिलेसम्मकै सर्वाधिक योगफल पनि हो । यसअघि नेपालले सन् २०२५ मा स्कटल्यान्डविरुद्ध ३२३ रन बनाएको थियो । कीर्तिपुरमै नेपालले ओमानविरुद्ध ३१० रन बनाएको रेकर्ड यस खेलमा तोडिएको हो ।
नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेका इशानले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान रोहितले ५९ बलमा ४६ रन बनाए । ओपनर आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रनको योगदान दिए । दुवैले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।
अन्तिम ओभरतिर आक्रामक बनेका उपकप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै अविजित ५९ रन बनाए । उनले ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । गुल्सन झाले १५ रन बनाउँदा आरिफ शेख १७ रनमा अविजित रहे ।
अमेरिकाका लागि शुभम रन्जणेले ३ विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगारकरले समान १–१ विकेट लिए ।
नेपालले यसअघि सिरिजको पहिलो भेटमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । जारी लिग–२ सिरिजमा नेपालले लगातार राम्रो प्रदर्शन गर्दै अंकतालिकामा सुधार गरेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।