लोड हुँदैछ...

मेनु

बेथिति

जनसेवा विद्यालयको लेटरप्याडबाटै जग्गा किनबेच !

जनसेवा विद्यालयको लेटरप्याडबाटै जग्गा किनबेच !

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ (साविक बयरवन–८) स्थित जनसेवा माध्यमिक विद्यालयले आफ्नो लेटरप्याड प्रयोग गरेरै व्यक्तिको जग्गा विक्री र नामसारी गरेको फेला परेको छ । जग्गा विक्री तथा नामसारी गर्ने अधिकार भूमिसुधार तथा मालपोत कार्यालयको हो । तर, विद्यालयले नै मालपोतको काम गरेको पाइएको हो । तर, त्यो पनि विद्यालयको नाममा आएको जग्गा नभइ व्यक्तिको जग्गा विद्यालयले विक्री गरेको हो ।

उक्त जग्गा ६२ वर्षीय रोहितराम फुयालको नाममा छ । फुयालसँग अहिले पनि जग्गाको लालपुर्जा छ । उनले अहिलेसम्म सरकारलाई तिरो (कर) तिरिरहेका छन्, तर उनको १४ कठ्ठा ३ धुर नम्बरी जग्गामा भने विद्यालयले कागज बनाएर दिएका १४ परिवारले घर बनाएर बसेका छन् ।

प्राप्त कागजात अनुसार जनसेवा माध्यमिक विद्यालयले आफूलाई जग्गाको मालिकका रूपमा प्रस्तुत गर्दै विभिन्न व्यक्तिहरूलाई जग्गा बाँडेको र नामसारी गरिदिएको देखिन्छ । वि.सं. २०५२ माघ १५ गते विद्यालयले काटेको एउटा पत्रमा स्पष्ट लेखिएको छ, ‘जग्गा नामसारी गरी दिएको ।’

उक्त पत्रमा लक्षुमण श्रेष्ठको नाममा जग्गा नामसारी गरिदिएको उल्लेख गर्दै विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर र छाप लगाएका छन् । नामसारी गरिदिए बापत विद्यालयले १०० रुपैयाँ शुल्क समेत असुल गरेको पत्रमा देखिन्छ । तर, विद्यालयले कुन कानूनी आधारमा व्यक्तिको निजी जग्गा अर्कैको नाममा नामसारी गरिदियो ? यो अहिले गम्भीर प्रश्न बनेको छ ।

यति मात्र होइन, विद्यालयले जग्गा बिक्री वितरण गरेको भन्दै विभिन्न व्यक्तिहरूलाई पत्र लेखेको र सोही पत्रका आधारमा स्थानीयले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । २०६० सालमा भएको एउटा कागजमा विद्यालय वा बजार समितिसँग घडेरी किनेको व्यहोरा उल्लेख छ । विद्यालयले जग्गा धनीको अनुमति विना नै अरूलाई भोगचलन गर्न दिनु र त्यसको सिफारिस गर्नु सरासर ठगी र किर्ते कार्य हो ।

यस्तो कामको सुरुवात भने वि.सं. २०३९ साल असोज १५ गतेबाट भएको थियो । रोहितरामका बुबा स्व. नरपति फुयाल सोझो स्वभावका थिए । उनको नाममा कित्ता नं. ६८१ को १४ कठ्ठा ३ धुर नम्बरी जग्गा थियो । तत्कालिन गाउँ पञ्चायतका प्रधानपञ्च डिएन राई र वडा अध्यक्ष प्रेम प्रकाश पराजुलीले नरपतिलाई एउटा जालमा पारेका थिए ।

उनीहरूले नरपतिलाई भने, ‘तिम्रो जग्गामा हाटबजार लगाउनु पर्छ, यो जग्गा पञ्चायतलाई छोडिदेऊ । बदलामा तिमीलाई जनसेवा माविमा कार्यालय सहयोगी (पियन) को जागिर दिन्छौँ र अन्त कतै २ बिघा ऐलानी जग्गा मिलाइदिन्छौँ ।’

जागिरको लोभ र पञ्चायतका शक्तिशाली मान्छेको दबाबमा परेर नरपतिले एउटा काँचो कागजमा सहिछाप गरिदिए । उनले जागिर त पाए, तर न त भनेको २ बिघा जग्गा पाए, न त उनको नम्बरी जग्गा नै फिर्ता भयो । पञ्चायतले उनको जग्गा हडप्यो र गाउँ पञ्चायत र विद्यालयलाई व्यवस्थापन गर्न सुम्पियो । त्यही समयदेखि विद्यालयले पाएको ४ कठ्ठा जग्गा भने विक्री वितरण गरेको हो ।

अहिले सो जग्गामा चन्द्रकला पौडेल, रत्नबहादुर पौडेल, लक्ष्मण श्रेष्ठ, कृष्णकुमारी कार्की लगायतका १४ परिवारले घर–टहरा बनाएका छन् । उनीहरूले आफूहरूले विद्यालय वा पञ्चायतसँग जग्गा किनेको दाबी गर्छन् । उनीहरूसँग विद्यालयले दिएका ती अवैध कागजहरू बाहेक वैधानिक लालपुर्जा छैन ।

अर्कोतिर, जग्गाका वास्तविक मालिक रोहितराम फुयाल विगत चार वर्षदेखि उनका दुवै मृगौला फेल भएर उपचाररत छन् । रोहितरामले वि.सं. २०८१ मंसिर सम्मको जग्गा कर (तिरो) तिरिसकेका छन् । उनीसँग वि.सं. २०३४ सालमा जारी भएको सक्कल रातो लालपुर्जा सुरक्षित छ । ‘मेरो लालपुर्जा मेरै नाममा छ, तिरो मैले तिरिरहेको छु, तर जग्गामा अरूलाई राखेर गाउँपालिकाले बजेट खर्च गर्छ र टहरा बनाउँछ । यो कस्तो अन्धहेर हो ?’ रोहितरामले भने ।

रोहितरामका छोरा सेन्जाम फुयालले न्यायका लागि कानेपोखरी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनले दिएको निवेदनको आधारमा शनिबार गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले सर्वपक्षीय छलफल राखेकी थिइन् । उक्त छलफलका क्रममा विद्यालयले जग्गा विक्री गरेको पाइएको अध्यक्ष इङ्नामले बताइन् । ‘त्यहाँ विद्यालयले नै जग्गा विक्री गरेको पाइयो,’ उनले भनिन्, ‘जग्गा खाली गराउने निवेदन आएको छ । यसलाई टुंगोमा पुर्याउने प्रयास भइरहेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जग्गा कानुनी रूपमा फुयालकै नाममा रहेको स्वीकार गरेकी छिन् ।

विद्यालयले लेटरप्याड प्रयोग गरेर जग्गा नामसारी गर्नु वा बिक्रीको सिफारिस गर्नु सरासर गैरकानूनी कार्य हो । यस्तो कार्यमा संलग्न तत्कालिन प्रधानाध्यापक र पञ्चायतका प्रतिनिधिहरूमाथि कानूनी कारबाही हुनुपर्ने पालिकाकै कतिपय जनप्रतिनिधि बताउँछन् । कतिपय जनप्रतिनिधिहरु भने त्यस कुरामा असहमत छन् । पालिकाका उपाध्यक्ष भोला अधिकारीले भने न्यायिक समितिमा परेको निवेदन आफूले छलफल नगराउने भनेर फुयालको निवेदन नै अध्यक्ष इङ्नामलाई पठाइदिएका थिए ।

अहिले देशभर सरकारी र अतिक्रमित जग्गा खाली गराउने क्रम चलिरहेको छ । काठमाडौँमा सरकारी जग्गामा बनेका संरचना भत्काइँदा मोरङका रोहितरामलाई पनि आशा जागेको छ । रोहितरामका छोरा सेन्जाम भन्छन्, ‘हामीलाई कसैको उठिबास लगाउनु छैन । तर हाम्रो नम्बरी जग्गा हामीले पाउनुपर्छ । विद्यालयले गरेको यो अपराध हो । यसलाई सच्याउनुपर्छ ।’

विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाले आफू जग्गाको बारेमा केही नबोल्ने बताए । ‘जग्गाको विषयमा अहिले म केही बोल्दिन । नाम जाँच चलिरहेको छ । विक्री भएको, नभएको केही कुरा अहिले एकिन गरिएको छैन । सम्बन्धीत निकायले जवाफ माग गरेको छ । जवाफ दिएपछि तपाईलाई पनि भनौंला,’ निरौलाले भने ।

तर, विद्यालयको जग्गा किनबेच गर्दा प्रधानाध्यापकको रुपमा तुलाराम गुरुङ कार्यरत थिए भने तत्कालिन गाउँ विकास समितिको सचिव तारा काफ्ले थिए । काफ्ले २०५४ सालको निर्वाचनमा बयरवन गाविसको अध्यक्षमा निर्वाचित भका थिए भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा पनि निर्वाचित भएका थिए । पालिकाले काफ्लेसहित तीन दर्जनबढी सरोकारवालालाई राखेर गरेको छलफलले कुनै निर्णय भने गर्न नसकेको पालिकाकी अध्यक्ष इङ्नामले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।