लोड हुँदैछ...

मेनु

विपक्षीबारे मुख्यमन्त्रीको टिप्पणी : उहाँहरूले जति जान्नुभएको छ, त्यति नै भन्ने हो

विपक्षीबारे मुख्यमन्त्रीको टिप्पणी : उहाँहरूले जति जान्नुभएको छ, त्यति नै भन्ने हो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षले गरेको आलोचनालाई उनीहरूको बौद्धिक सीमा र अध्ययनको कमीको रूपमा टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर आङ्बोले नीति तथा कार्यक्रमलाई नयाँपन नभएको बताएपछि त्यसको कडा जवाफ दिँदै मुख्यमन्त्री कार्कीले विपक्षीहरूले नीति तथा कार्यक्रम पढ्दै नपढी टिप्पणी गरेको दाबी गरे ।

बिहीबार प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले भने ‘उहाँहरूले जे जति जान्नुभयो, त्यति नै भन्ने हो । उहाँहरूले नीति तथा कार्यक्रम पढ्नुभएकै छैन । पहिलाको बिर्सनुभयो, अहिलेको पढ्नुभएको छैन र ध्यान पनि दिनुभएको छैन ।’

मुख्यमन्त्री कार्कीले प्रतिपक्षले नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भन्नुलाई उनीहरूको राजनीतिक धर्मको रूपमा व्याख्या गरेका छन् । ‘यो प्रतिपक्षीहरूको कर्मकाण्डीय धर्म पनि हो, त्यसैले उहाँहरूले स्वाभाविक रूपमा भन्नुभयो होला,’उनले भने ।

विगतका कार्यक्रमहरूसँग तुलना गर्दै मुख्यमन्त्री कार्कीले हालको नीति तथा कार्यक्रम धेरै खारिएर आएको दाबी गरे । उनले चुनौती दिँदै भने तपाईंहरू आफैँले २०७५ सालदेखि अहिलेसम्मका सबै नीति तथा कार्यक्रम टेबुलमा राखेर हेर्नुहोस्, हामीले अनुभवले खारिएर अहिलेसम्मकै समृद्ध दस्तावेज बनाएका छौँ । यो धेरै राम्रो छ, यसले प्रदेशलाई स्पष्ट दिशा निर्देश गरेको छ र विषयवस्तुमा स्पष्टता प्रदान गरेको छ ।’

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा का संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको र यसले प्रदेशबासीलाई उत्साहित बनाउन नसक्ने टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।