लोड हुँदैछ...

मेनु

कोशी सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै : प्रमुख प्रतिपक्षी

कोशी सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै : प्रमुख प्रतिपक्षी

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपाले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रमलाई ‘कर्मकाण्डी’ संज्ञा दिएको छ । नीति तथा कार्यक्रममा कुनै पनि नयाँपन नभएको र यसले जनतामा उत्साह जगाउन नसक्ने प्रतिपक्षको ठहर छ ।

प्रदेशसभा बैठकपछि प्रतिक्रिया दिँदै नेता आङ्बोले सरकारले परम्परागत र विगतकै कार्यक्रमहरूलाई कपि पेस्ट गरेर ल्याएको आरोप लगाए । उनले यसलाई केवल औपचारिकता पूरा गर्ने कर्मकाण्डीको रूपमा टिप्पणी गरेका छन् ।

‘यसमा कुनै पनि नयाँपन छैन । विगतकै सरकारहरूले जुन नीति कार्यक्रमहरू ल्याउँदै आएका थिए, त्यसैको निरन्तरता मात्रै यहाँ देखिएको छ,’नेता आङ्बोले भने ‘अहिलेको बदलिएको राजनीतिक परिस्थिति र जनअपेक्षा अनुसार जुन ढंगको ‘डिपार्चर’ हुनुपर्थ्यो, त्यो साहस सरकारले देखाउन सकेन ।’

आङ्बोले निर्वाचनपछिको नयाँ सन्दर्भ र जेनजि विद्रोहले ल्याएको परिवर्तनको जगमा उभिएर प्रदेशबासीको भरोसा जित्ने खालको कार्यक्रम आउनुपर्नेमा जोड दिए । उनका अनुसार सरकारले सिङ्गो प्रदेशबासीको अभिभावकको रूपमा सबैलाई उत्साहित र अपिल गर्न सक्ने अवसर गुमाएको छ ।

‘जे जति आएको छ, ती सबै विगतकै निरन्तरता हुन् । यसले न त सेवा प्रवाहमा सुधार ल्याउँछ, न त विकासका कामलाई नयाँ ढङ्गबाट अगाडि बढाउने संकेत नै गर्छ,’ उनले थपे ‘अहिलेको परिस्थितिबाट अलिकति माथि उठ्ने खालको नीति र बजेट आउनुपर्थ्यो, तर सरकार पुरानै ढर्राबाट अगाडि बढ्न खोजेको देखियो । यसबाट खासै उत्साहित हुनुपर्ने ठाउँ छैन ।’

प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको यो नीति तथा कार्यक्रमले जनताको भरोसा जित्न नसक्ने र यसले प्रदेशको समृद्धिको लक्ष्य भेट्न मुस्किल हुने प्रतिपक्षी दलको दाबी छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।