काठमाडौँ । बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार भने पुनः घटेर बन्द भएको छ । अघिल्लो दिन ३०.०८ अंकले बढेको बजार दोस्रो दिन टिक्न नसक्दा नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा झरेको हो ।
नेप्से घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस दिन ३४८ वटा धितोपत्रको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर कारोबार भएको हो । कारोबारमा सहभागी ७२ कम्पनीको शेयरमूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार प्रभु बैंक डिबेन्चरको मूल्य सर्वाधिक ६.६२ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ११२ रुपैयाँ पुगेको छ । त्यस्तै, बुंगल हाइड्रोको शेयरमूल्य ६.१८ प्रतिशतले बढेर प्रतिकित्ता ७२५ रुपैयाँ कायम भएको छ ।
यता, अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेर ४७७ रुपैयाँ ३० पैसामा झरेको छ । झापा इनर्जीको शेयरमूल्य पनि ८.१२ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ४०४ रुपैयाँ ९० पैसामा सीमित भएको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत शीर्ष स्थानमा रहेको छ । कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दोस्रो स्थानमा रहेको रिडी पावरको १५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूह मात्रै हरियालीमा देखिएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।