लोड हुँदैछ...

मेनु

विराटनगरमा छैटौं मिल्स गोल्डकप हुने

विराटनगरमा छैटौं मिल्स गोल्डकप हुने

विराटनगर । विराटनगर जुटमिलको ऐतिहासिक खेलमैदानमा आगामी सातादेखि छैटौँ संस्करणको ‘मिल्स गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको खेल तालिका र पुरस्कार राशिको घोषणा गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
कोशी प्रदेशको फुटबल इतिहासमा विशिष्ट पहिचान बोकेको मिल्स एरियाको खेल विरासतलाई जोगाइराख्न पूर्व खेलाडीहरूको नेतृत्वमा २०७२ सालमा क्लब स्थापना गरिएको थियो । “मिल्स एरियाको फुटबल इतिहास र खेलाडीहरूको योगदानलाई जगेर्ना गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ ट्रष्टका अध्यक्ष विष्णु डंगोलले भने, “२०७७ सालदेखि हामीले निरन्तर रूपमा कोशी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएका छौं ।’’

प्रतियोगितामा कोशी प्रदेशका ‘क’ डिभिजनका ८ वटा फुटबल क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विभिन्न चार विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ले ५ सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

अमृत गुरुङको संयोजकतामा हुन लागेको यस प्रतियोगिताको कुल अनुमानित लागत १० लाख रुपैयाँ रहेको छ । विराटनगरको औद्योगिक इतिहाससँग जोडिएको यो खेलमैदानमा हुने गोल्डकपले स्थानीय स्तरमा फुटबलको क्रेजलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।