लोड हुँदैछ...

मेनु

लगातारको गिरावटपछि नेप्सेमा ३० अंकको बृद्धि

लगातारको गिरावटपछि नेप्सेमा ३० अंकको बृद्धि

काठमाडौँ । बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको छ । लगातार दुई कारोबार दिन सामान्य गिरावट आएको बजारमा बुधबार भने सुधार देखिएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४६ वटा स्टकको ५२ हजार ३३६ पटक कारोबार हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ २० पैसा बढेर ५६१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब १२ प्रतिशत र बुंगल हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । यता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक १३.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको करिब १८ करोड रुपैयाँ र अपि पावरको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन र जलविद्युत उपसमूह सर्वाधिक १.८९ प्रतिशतले उकालो लागेका छन् । वित्त, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।