काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा शीर्ष स्थानको स्कटल्यान्ड क्रिकेट टोली लाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। यो जितसँगै नेपाल अंकतालिकामा दुई स्थान उक्लिँदै पाँचौं स्थानमा पुगेको छ।
नेपालको जितमा कप्तान रोहित पौडेल ले अविजित ७४ रनको उत्कृष्ट इनिङ खेले। उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितले इशान पाण्डे सँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे। इशानले ६१ बलमा ५५ रन बनाए।
ओपनर कुशल भुर्तेल र आसिफ शेख ले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। कुशल २८ र आसिफ २९ रनमा आउट भए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो। स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेन ले सर्वाधिक ७३ रन बनाए भने माइकल इंग्लिसले ५१ रन जोडे।
नेपालका लागि ललित राजवंशी ले ४ विकेट लिए। सन्दीप लामिछाने ले ३ विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाए। उनले ७३ खेलमा उक्त उपलब्धि हासिल गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कको ७७ खेलको कीर्तिमान तोडे।
यो जितपछि २७ खेलबाट २२ अंक जोडेको नेपाल पाँचौं स्थानमा पुगेको छ। नेपालले अब सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।