इटहरी । सुनसरीको इटहरी अस्पतालको औषधि ठेक्का प्रकरणबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले सार्वजनिक स्वास्थ्य सेवा र राज्यको बजेटसँग प्रत्यक्ष जोडिएको विषय भएकाले औषधि खरिद तथा आपूर्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठेको बताए।
औषधि आपूर्तिसँग सम्बन्धित मेडिकल व्यवसायीबाट नगर प्रमुख, उनका निकट व्यक्ति तथा सहयोगीहरूको खातामा करोडौँ रुपैयाँ गएको विवरण सार्वजनिक भएको चौधरीले बताएका छन् । औषधि खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन तथा आर्थिक कारोबारमाथि तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग उनले माग गरेका छन्।
उनले शिक्षा क्षेत्रको विषय पनि संसदमा उठाउँदै केही सामुदायिक विद्यालयमा गरिएको विद्यालय व्यवस्थापन समिति मनोनयन प्रक्रिया कानुनी र नैतिक रूपमा प्रश्नयोग्य रहेको बताए। जनता माध्यमिक विद्यालय लगायतका विद्यालयमा शिक्षा समितिमार्फत गरिएको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उनले दलगत भागबन्डाका आधारमा समिति गठन गर्ने अभ्यासले स्थानीय तहप्रतिको जनविश्वास कमजोर बनाएको टिप्पणी गरे।
यस्ता मनोनयन तत्काल खारेज गरी कानुनी प्रक्रियाअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न चौधरीले सरकारसँग माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।