विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएकी एक महिलाको शवबाटै सुनका मुन्द्रा गायब पारिएको छ । अस्पतालको लापरबाही र सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै आफन्तले विरोध गरेपछि अस्पताल प्रशासनले सुन बराबरको रकम तिरेर घटना सामसुम पार्ने प्रयास गरेको छ ।
विष सेवनपछि जेठ १ गते भर्ना भएकी उदयपुर त्रियुगा नगरपालिका–७ की ४० वर्षीया सबिना दनुवारको आइतबार बिहान मृत्यु भएको थियो । मृत्यु घोषणा हुनुअघि ईसीजी गर्ने बहानामा पर्दा लगाएर बिरामीको दुवै कानमा रहेको एक तोला बराबरको मुन्द्रा चोरी भएको परिवारको दाबी छ ।
भिडियोले खोलेको पोल
सुरुमा सुन हराएको कुरालाई अस्वीकार गरेको अस्पताल प्रशासन आफन्तले उपचारकै क्रममा खिचिएको भिडियो देखाएपछि पछि हटेको थियो । भिडियोमा मृतकको कानमा मुन्द्रा स्पष्ट देखिएको र सीसी क्यामेरा फुटेजमा समेत शंकास्पद दृश्य देखिएपछि अस्पतालले सुन हराएको स्वीकार गरेको हो ।
क्षतिपूर्ति दिएर सामसुम गर्ने प्रयास
प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले दोषी कर्मचारीमाथि छानबिन गर्ने सर्तमा मृतकका परिवारलाई एक तोला सुन बराबरको चेक काटेर दिएको छ । तर, अस्पतालका सञ्चालक कृष्ण खवासले भने यसबारे अनभिज्ञता प्रकट गर्दै घटना पन्छाउन खोजेका छन् ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले अस्पतालमा शवबाट सुन हराएको विषयमा गम्भीरतापूर्वक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा मृतककै शरीरबाट गहना गायब हुनुले विराटनगरको स्वास्थ्य क्षेत्रको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।