विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले आफ्नो ४५औँ स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ ।
विराटनगरको बंगलामुखीस्थित झी पुचः कार्यालय परिसरमा आयोजित शिविरमा आँखा, कान, रक्तचाप र मधुमेह परीक्षणका साथै रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । कार्यक्रममा दुई सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए भने ५० जनाभन्दा बढीले रक्तदान गरेका थिए ।
संघका अध्यक्ष शरद श्रेष्ठका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रममा सीमित नराखी समुदायसँग प्रत्यक्ष जोड्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको उनले बताए ।
कार्यक्रममा रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा तथा कान परीक्षण गरिएको थियो भने न्यूरो अस्पतालसँगको सहकार्यमा रक्तचाप र मधुमेह परीक्षण गरिएको थियो । रक्तदान कार्यक्रम भने नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
शिविरको उद्घाटन प्रमुख अतिथिसमेत रहेका झी पुचःका संस्थापक संरक्षक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्य इन्दिरा प्रधान, अध्यक्ष शरद श्रेष्ठ तथा कार्यक्रम संयोजक हरिमोहन श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।
संघका अनुसार २०३८ सालमा प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधान, पुरुषोत्तम अमात्य, लोकेन्द्रबहादुर मल्ल, सूर्यबहादुर श्रेष्ठ र देवेन्द्र मल्ललगायतको अगुवाइमा झी पुचः स्थापना गरिएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाका क्रममा संस्थापकहरू पक्राउसमेत परेको अध्यक्ष श्रेष्ठले स्मरण गरे ।
संस्थाका पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठले नेवारी भाषा, कला र संस्कृतिको संरक्षणमा सक्रिय रहँदै आएको झी पुचःले सामाजिक रुपान्तरणका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै आएको बताए । महासचिव संजयकुमार श्रेष्ठका अनुसार संस्थाले सामूहिक बेलविवाह, व्रतबन्ध, नेपाल संवत् अवसरमा मोटरसाइकल ¥याली तथा गाईजात्रा कविगोष्ठीलगायत सांस्कृतिक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पूर्वअध्यक्ष तथा झी पुचःका अगुवा राजन श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, भविसकुमार श्रेष्ठ, हरिबहादुर श्रेष्ठ रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।