लोड हुँदैछ...

मेनु

अर्थतन्त्र टाट पल्टिनेवाला छः आर्थिक मामिला तथा योजनामन्त्री

अर्थतन्त्र टाट पल्टिनेवाला छः आर्थिक मामिला तथा योजनामन्त्री

विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले कुनै पनि बेला हाम्रो अर्थतन्त्र श्रीलङ्काको जस्तो टाट पल्टिेवाला छ, यस विषयमा सबैले बेलैमा सचेत हुन जरुरी रहेको बताएका छन् ।

विराटनगरको विष्णुमाया सामुदायिक भवनको २१ औं वार्षिक साधारण सभा उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा शनिबार उनले यस्तो बताएका हुन् । अहिले सरकारको सामान्य सञ्चालन खर्च समेत राजश्वले धान्न नसक्ने अवस्था रहेको र त्यो खर्च धान्न पनि सरकार हरेक वर्ष विदेशी ऋण लिन बाध्य हुनुपर्ने अवस्थामा पुगेको उनले बताए । ‘विकास निर्माण गर्ने र संघसंस्था चलाउने पैसा कहाँबाट आउँछ ?,’ प्रश्न गर्दै उनले भने, ‘शिक्षक–कर्मचारीलाई तलव खुवाउन सरकारसँग पैसा नभएर हरेक वर्ष आन्तरिक ऋण उठाउनुपर्ने अवस्था छ ।’

यसअघि प्रदेश आयोजनाको बजेट वितरण तथा बाँडफाँडमा सधैं चिर्कटो र मौखिक आदेशका भरमा चलेको र अब प्रदेश सरकारले आयोजना बैंकमार्फत परेका योजनाहरूलाई मात्र रकम बाँडफँड गर्ने नीति लिएको उनले प्रष्ट पारे ।

मन्त्री लिङ्थेपले आफूलाई जान्नेसुन्ने हुँ भन्ने मानिसले राज्यलाई कर तिर्नु नागरिकको दायित्व हो भन्ने कुरा नजान्ने मानिसलाई कहिल्यै नसिकाएको पनि बताए । ‘कर कसरी घटाउने र छल्ने भन्ने कुरा प्रत्येक जान्ने मानिसले नजान्ने मानिसलाई सिकाइएछ । कसैले कमायो वा नाफा ग¥यो भने सरकारले तोकेको कर तिर्नुपर्छ भन्ने भावनाको विकास नै भएन । यो सबै क्षेत्रमा यस्तै प्रवृत्ति लागू भएको छ । त्यसैले व्यक्तिहरू धनी हुँदै गए, सरकारको ढुकुटी रित्तिदैै गयो,’ उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरघीय सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निर्मला कार्कीले विष्णुमाया पुस्तकालयले जस्तै विष्णुमाया सामुदायिक भवनले ज्येष्ठ नागरिक दिवा सेवा सञ्चालन गर्दै ज्येष्ठहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग गरोस् भन्ने सुझाव दिइन् ।

कार्यक्रममा प्राडा कविराज न्यौपाने, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, ज्येष्ठ नागरिक साझा चौतारी, झोराहाटका अध्यक्ष कमल भट्टराई, राजनीतिक अगुवा महेश रेग्मीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

लक्ष्मी सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षतामा संस्थाका अध्यक्ष दामोदरप्रसाद घिमिरेले, वार्षिक प्रगति प्रतिवेदन उपाध्यक्ष केशव गौतमले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रंगनाथ चापागाइँले प्रस्तुत गरेका थिए । कार्यक्रममा २७ लाख रुपैयाँ बराबरको वार्षिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।