लोड हुँदैछ...

मेनु

आइसिसी लिग २ : अमेरिकासँग खेल्दै नेपाल

आइसिसी लिग २ : अमेरिकासँग खेल्दै नेपाल

विराटनगर आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले घरेलु मैदान कीर्तिपुरमा बलियो प्रतिस्पर्धी अमेरिकाको सामना गर्दैछ। त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेल नेपालका लागि केवल एक खेल मात्र नभएर आफ्नो एकदिवसीय अस्तित्व जोगाउने महत्त्वपूर्ण खुड्किलो समेत हो।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस त्रिकोणात्मक शृङ्खलाका सुरुवाती दुवै खेलमा स्कटल्याण्डले बाजी मारिसकेको छ। स्कटल्याण्डले नेपाल र अमेरिका दुवैलाई डिएलएस नियमका आधारमा समान २ रनको झिनो अन्तरले पराजित गरेको थियो। आजको खेलमा नेपाल अमेरिकालाई हराउँदै शृङ्खलामा पहिलो जित निकाल्ने दाउमा हुनेछ।

नेपालका लागि ‘गर या मर’ को अवस्था
अङ्क तालिकामा नेपालको स्थिति निकै चुनौतीपूर्ण छ। २५ खेल खेलिसकेको नेपाल ८ जित र १५ हारसहित १८ अङ्कका साथ तालिकाको पुछारतिर (सातौँ/आठौँ स्थानमा) सङ्घर्षरत छ। एकदिवसीय (ODI) मान्यता जोगाउन नेपालले शीर्ष ६ भित्र पर्नु अनिवार्य छ भने विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन अब बाँकी रहेका सबै ११ वटै खेल जित्नुपर्ने दबाब छ।

अर्कोतर्फ, अमेरिका २५ खेलबाट १८ जितसहित ३६ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ। ३८ अङ्कका साथ स्कटल्याण्ड शीर्ष स्थानमा विराजमान छ।

अङ्क गणित र हालैको प्रदर्शनका आधारमा अमेरिका बलियो देखिए पनि घरेलु दर्शकको साथ र मैदानको अनुभव नेपालका लागि फाइदाजनक हुन सक्छ। एकदिवसीय क्रिकेटको भविष्य सुरक्षित गर्न र अङ्क तालिकामा सुधार ल्याउन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।