विराटनगर– नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा सञ्चालित ‘क्रिकेट युनाइटेड्स कप–२०२६’ सिरिज बराबरीमा टुङ्गिएको छ । बुधबार हुने भनिएको निर्णायक तथा अन्तिम खेल वर्षाका कारण रद्द भएपछि तीन खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको हो ।
विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा बुधबार बिहान वर्षा भएपछि मैदानमा पानी जमेर बागमती प्रदेश र इक्वालिटी कप–११ बीचको खेल हुन सकेन । मैदान खेल्न योग्य नभएपछि अम्पायरले खेल रद्द गर्ने निर्णय गरेका थिए ।
यसअघि भएका दुई खेलमध्ये पहिलो खेलमा इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै अग्रता लिएको थियो । तर, दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै बागमतीले २२ रनको जित निकालेपछि सिरिज रोमाञ्चक मोडमा पुगेको थियो । बुधबारको खेलले सिरिजको विजेता टुङ्गो लगाउने अपेक्षा गरिएको भए पनि मौसम बाधक बन्यो ।
टिका साह ‘प्लेयर अफ द सिरिज’
शृङ्खलाभर उत्कृष्ट प्रदर्शन गरेकी इक्वालिटी कप–११ की टिका साह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भइन् । त्यस्तै, इक्वालिटी कप–११ कै सानु राजवंशी उत्कृष्ट ब्याटर र बागमती प्रदेशकी पार्वती खत्री उत्कृष्ट बलर चुनिए । बागमतीकै लक्ष्मी माया रुम्बाले ‘उदीयमान खेलाडी’ को उपाधि हात पारिन् ।
विजयी तथा पुरस्कृत खेलाडीहरूलाई नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले ट्रफी तथा पुरस्कार वितरण गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।