लोड हुँदैछ...

मेनु

मध्यपूर्व युद्धको बाछिटाः

विराटनगर नाकामा प्लाष्टिकको दाना आयात र राजश्वमा देखियो संकुचन

विराटनगर नाकामा प्लाष्टिकको दाना आयात र राजश्वमा देखियो संकुचन

विराटनगर । मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण विराटनगर नाका भएर हुने प्लाष्टिकजन्य कच्चा पदार्थ (प्लाष्टिक दाना) को आयात प्रभावित भएको छ। करिब तीन महिनादेखि जारी युद्धका कारण पेट्रोलियम पदार्थसँग सम्बन्धित औद्योगिक कच्चा पदार्थको आयातमा समस्या देखिएपछि यहाँका प्लाष्टिक उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेका छन्।

विराटनगर भन्सार कार्यालयको पछिल्लो ६ महिनाको तथ्यांकको तुलनात्मक विवरण अनुसार, प्रमुख कच्चा पदार्थको आयात परिमाण र राजश्व संकलनमा मिश्रित तर केही क्षेत्रमा ठूलो गिरावट देखिएको हो ।

भन्सारको तथ्याङ्क अनुसार, सबैभन्दा बढी आयात हुने पोलिथिनको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत वर्ष ८० लाख ६८ हजार केजी आयात भएकोमा यस वर्ष घटेर ७१ लाख ६२ हजार केजीमा सीमित भएको छ। यसका कारण उक्त शीर्षकबाट प्राप्त हुने कुल राजश्वमा ३ करोड ६३ लाख रुपैयाँले कमी आएको छ।

त्यसैगरी, इथिलिन अल्फा अर्थात ओलेफिन कोपोलिमरको आयात ५३ लाख २६ हजार केजीबाट घटेर ५० लाख ४ हजार केजीमा झरेको छ, जसले गर्दा राजश्वमा ९६ लाख ५६ हजार रुपैयाँको नोक्सानी भएको छ। यद्यपि, केही निश्चित प्रकारका पोलिथिनको आयातमा भने केही वृद्धि देखिएको छ, जसले कुल राजश्वको गिरावटलाई केही हदसम्म सन्तुलन बनाउन सहयोग गरेको छ ।

मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र पेट्रोलियम पदार्थको मूल्य अस्थिर हुँदा त्यसको प्रत्यक्ष असर प्लाष्टिकको दानामा परेको हो । पेट्रोलियम पदार्थको बाइ–प्रोडक्टका रूपमा निकालिने प्लाष्टिक दानाको अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएको छ ।

यसको अर्को नकारात्मक पाटो भारतीय बजारमा पनि देखिएको छ । नेपाली उद्योगीहरूका अनुसार, भारतमा कच्चा पदार्थ उपलब्ध भए तापनि त्यहाँका व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी बिक्री गर्न नमान्ने र मूल्यमा अस्वाभाविक वृद्धि गर्ने समस्या देखिएको छ। ‘हामीले एकातिर युद्धका कारण समुद्री मार्गबाट आउने सामानमा ढिलाइ भोगिरहेका छौं भने अर्कोतिर भारतीय बजारमा व्यापारीहरूको मनोमानीले उद्योग चलाउनै गाह्रो भएको छ,’ उद्योगी राकेश सुरानाले बताए ।

आयातको परिमाण घट्दा र वस्तुको सीआइएफ भ्यालुमा आएको उतारचढावले गर्दा भन्सार महसुल र मूल्य अभिवृद्धि कर संकलनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । तथ्याङ्क अनुसार, आयन एक्सचेन्जर्स जस्ता साना परिमाणका वस्तु बाहेक मुख्य औद्योगिक कच्चा पदार्थको आयातमा आएको संकुचनले समग्र भन्सार असुलीको लक्ष्यमा चुनौती थपिएको देखिएको हो ।

समग्रमा, ५–६ महिनाको अवधिलाई विश्लेषण गर्दा मध्यपूर्वको युद्धले कच्चा पदार्थको आपूर्तिलाई अनिश्चित बनाएको छ । यदि यही अवस्था अझै केही महिना लम्बिएमा विराटनगर करिडोरका दर्जनौं प्लाष्टिक उद्योगहरू बन्द हुने अवस्थामा पुग्न सक्ने र यसले राष्ट्रिय अर्थतन्त्रमा थप नकारात्मक असर पार्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।