लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री बालेनकै क्षेत्रको अस्पताल बेहाल

प्रधानमन्त्री बालेनकै क्षेत्रको अस्पताल बेहाल

विराटनगर । झापा गौरीगन्ज –६ की २२ वर्षीया सर्मिला सोरेन गर्भवती भएपछि नियमित स्वास्थ्य जाँचका लागि स्थानीय गौरीगन्ज आधारभूत अस्पताल धाउन थालेकी थिइन् । २५ वैशाखमा पनि उनी सधैँझैँ परीक्षणका लागि अस्पताल पुगिन् । चिकित्सकले उनको स्वास्थ्य अवस्था हेरेपछि ‘सीबीसी’ र ‘आरबीसी’ परीक्षण गर्न सिफारिस गरे । तर, जब उनी प्रयोगशाला (ल्याब) पुगिन्, त्यहाँ सेवा ठप्प भएको जानकारी पाइन् ।

‘‘आफ्नै पालिकाको सरकारी अस्पतालमा सेवा पाइन्छ भनेर आएँ, तर यहाँ त दुई हप्तादेखि ल्याब नै बन्द रहेछ,’ सर्मिलाले गुनासो पोखिन्, ‘‘अब निजी क्लिनिकमा महँगो शुल्क तिरेर जाँच गराउनुको विकल्प रहेन ।’’

सर्मिला मात्र होइन, ३२ वर्षीय विवेककुमार साह पनि आफ्नी बिरामी आमा लिएर अस्पताल पुगेका थिए । चिकित्सकले रगत जाँच गर्न त लेखिदिए, तर अस्पतालको ल्याबमा ‘रिएजेन्ट’ (केमिकल) नभएका कारण उनी रित्तो हात फर्किए । ‘स्वास्थ्य जस्तो संवेदनशील कुरामा दुई सातासम्म सेवा बन्द हुनु भनेको गरिब जनतामाथिको खेलबाड हो,’’ उनले भने ।

विवको जस्तै पीडा छ, ३७ वर्षीया संगीता कुमारी ताजपुरियाको पनि । छोरा बिरामी भएपछि उपचारका लागि उनी हस्याङफस्याङ गर्दै नगर अस्पताल पुगेकी थिइन् । चिकित्सकले छोराको अवस्था बुझेर रोग पत्ता लगाउन ल्याब परीक्षण लेखिदिए । तर, अस्पतालको प्रयोगशालामा ताला झुण्डिएको देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन् ।

‘‘छोरा बिरामी भएपछि अस्पताल ल्याएकी थिएँ, डाक्टरले जाँच त लेखिदिनुभयो तर ल्याब बन्द रहेछ,’’ संगीताले भनिन्, ‘अस्पतालको उपकरणमा हाल्ने केमिकल नकिन्दा दुई हप्तादेखि सेवा ठप्प रहेछ । स्वास्थ्य बिमा छ, सरकारीमा सस्तो होला भनेर आएको तर यहाँ सेवा नपाएपछि अब निजीमा गएर महँगो उपचार गराउन बाध्य भयौँ । हाम्रो स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकार कसैले पनि चासो दिएनन् ।’’

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्वाचन क्षेत्र झापा–५ मा पर्ने यो १५ शय्याको अस्पताल अहिले प्रशासनिक र व्यवस्थापकीय लाचारीका कारण आफैँ ‘बिरामी’ जस्तै बनेको छ । अस्पतालमा दैनिक ३ देखि ५ सयसम्म बिरामी ओपीडीमा आउँछन् । तीमध्ये आधाभन्दा बढीलाई ल्याब परीक्षणको आवश्यकता पर्छ । तर, ल्याबमा प्रयोग हुने केमिकल सकिएको दुई साता बितिसक्दा पनि खरिद प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन ।

अस्पतालका मेसु डा. विश्वासविक्रम खरेलका अनुसार रिएजेन्ट सकिन सुरु गरेको एक महिना भइसक्यो भने ल्याब सेवा पूर्ण रूपमा ठप्प भएको दुई साता पुगिसक्यो । ‘‘हामीले आर्थिक वर्षको सुरुमै आवश्यक औषधी र रिएजेन्टको विवरण पालिकालाई बुझाएका थियौँ,’’ डा. खरेलले भने, ‘‘तर खरिद प्रक्रियामा ढिलाइ हुँदा अहिले बिरामीलाई निजीमा जानुपर्ने बाध्यता छ । ल्याब टेस्टबिना बिरामीको अनुहार हेरेर मात्र औषधी दिन सकिँदैन ।’’

खरिदमा कानुनी त्रुटिको मूल्य बिरामीलाई
अस्पतालको यो अवस्था हुनुमा स्थानीय सरकारको प्रशासनिक कमजोरी मुख्य कारण देखिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाका अनुसार गत माघ १३ गते नै रिएजेन्ट खरिदका लागि टेन्डर आह्वान गरिएको थियो । तर, कानुनअनुसार ३० दिनको सूचना निकाल्नुपर्नेमा भूलवश १५ दिनको मात्र निकालिएकाले उक्त प्रक्रिया रद्द गर्नुपर्यो ।
पुनः वैशाख १७ गते मात्रै ३० दिने नयाँ टेन्डर आह्वान गरिएको छ । यो प्रक्रिया पूरा भएर अस्पतालमा सामग्री आइपुग्न आगामी जेठ १८ गतेसम्म कुर्नुपर्ने देखिन्छ । यसको अर्थ, अझै कम्तीमा एक महिना गौरीगन्जका सर्वसाधारणले आफ्नै अस्पतालमा ल्याब सेवा पाउने छैनन् । उनी भन्छन्, ‘१० देखि २० लाखको रिएजेन्डर फास्ट ट्याकबाट ल्याउने प्रक्रियामा रहेका छौं ।’’ पालिकाले चालु आवमा औषधी र रिएजेन्डको लागि २ करोड बजेट बिनायोजन गरेको थियो ।

गौरीगन्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले अस्पतालको सेवा ठप्प हुनु ‘लाजमर्दो अवस्था’ भएको स्वीकार गरे । ‘‘प्रक्रिया मिचेर खरिद गर्न सकिएन, तर टेन्डर प्रक्रियामा त्रुटि हुँदा ढिलो भयो,’ उनले भने, ‘अहिले ६० लाख रुपैयाँ बराबरको केमिकल खरिदका लागि दोस्रो पटक टेन्डर खुलाइएको छ ।’
गाउँपालिका अध्यक्ष फुलबत्ती राजवंशी भने अबको केही दिनमै समस्या समाधान हुने दाबी गर्छिन् । ‘हामीले ठेक्का प्रक्रिया अघि बढाइसकेका छौँ, दुई–तीन दिनमै सामग्री खरिद गरेर सेवा सुचारु गर्छौँ,’ उनले भनिन् ।
सोमबार मात्रै अस्पतालको ओपीडीमा २७२ जना बिरामी आएका थिए । तीमध्ये अधिकांशले ल्याब सेवा नपाएर महँगो शुल्क तिर्दै निजी अस्पताल र क्लिनिक जानुपर्यो । स्वास्थ्य बिमा कार्यक्रम लागू भएको यो अस्पतालमा सेवा नपाउँदा बिमा बुझाएका सर्वसाधारणले समेत दोहोरो आर्थिक भार खेप्नुपरिरहेको छ ।

गौरीगन्ज अस्पतालको यो तस्बिरले मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को निर्वाचन क्षेत्रकै स्वास्थ्य अवस्थालाई गिज्याइरहेको छ । १५ शय्याको यो अस्पताल प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा पर्छ । जहाँबाट जनताले ‘विकास र समृद्धि’ को सपना देखेर ठूलो मत दिएका थिए । स्थानीय मदन राजवंशी अस्पतालको यो हालत देखेर निकै आक्रोशित छन् । ‘‘दुई सातादेखि अस्पतालको प्रयोगशाला ठप्प छ, यो क्षेत्र प्रधानमन्त्रीको हो,’’ मदन भन्छन्, ‘‘यही क्षेत्रका बासिन्दाले अत्यधिक मत दिएर देशको प्रधानमन्त्री बनाए, तर अहिले आफ्नै अस्पतालको हालत हरिबिजोक हुँदा पनि सरकारको ध्यान पुग्न सकेको छैन । दुई सातादेखि एउटा केमिकल खरिद गर्न नसक्ने सरकारले जनतालाई के सेवा देला ?’’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।