विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने हुलाकी राजमार्गको अत्यन्तै अस्तव्यस्त खण्ड तत्काल मर्मत गर्न र धूलो नियन्त्रणका लागि संघीय सरकारसँग माग गरेको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीलाई औपचारिक पत्राचार गर्दै सडकको दुरावस्थाका कारण नागरिकले भोग्नुपरेको सास्तीबारे ध्यानाकर्षण गराउनुभएको हो ।
कटहरीको सिंगिया खोलादेखि जुडी खोलासम्मको सडक खण्ड विगतमा लागेको ठेक्का रद्द भएपछि हाल अलपत्र अवस्थामा छ । सो खण्डमा दैनिक हजारौँका संख्यामा चल्ने मालवाहक ट्रक, सिटी सफारी र मोटरसाइकलका कारण उड्ने धूलोले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पुर्याएको गाउँपालिकाले जनाएको छ । पत्रमा भनिएको छ, “धुलोको प्रदूषणले विसिन्दाको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै वर्षाको समयमा सडकका ठूला खाडलले गर्दा दैनिकजसो दुर्घटना हुने गरेको छ ।” सडकको जीर्ण अवस्थाका कारण आक्रोशित स्थानीयले पटक–पटक बाटो बन्द गर्ने र आन्दोलन गर्ने गरेकाले आवागमन थप प्रभावित हुँदै आएको छ ।
यसैबीच, अलपत्र सडकको नयाँ ठेक्का प्रक्रिया जेठ मसान्तभित्रै सुरु हुने आश्वासन गाउँपालिकाले पाएको छ । अध्यक्ष देवराज चौधरीले आजै अर्थ मन्त्रालयमा बुझ्दा सार्वजनिक खरिद ऐन संशोधन भएकाले सोहीअनुसार ठेक्का प्रक्रिया अगाडि बढेको र जेठ मसान्तसम्ममा काम अघि बढ्ने जानकारी प्राप्त भएको बताउनुभयो ।
अध्यक्ष चौधरीले सडकको स्थायी समाधानका लागि नयाँ ठेक्का नलागुन्जेलसम्मका लागि नियमित मर्मत र धूलो नियन्त्रणका कार्य गरिदिन निर्देशनालयसँग जोडदार माग गर्नुभएको छ । “हामी नागरिकको समस्या समाधानका लागि निरन्तर सम्पर्कमा छौँ,” अध्यक्ष चौधरीले भन्नुभयो, “सडक निर्माणको कामलाई गति दिन सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको खाँचो छ ।”
गाउँपालिकाले सडक मर्मत र निर्माणलाई आफ्नो प्राथमिकतामा राख्दै संघीय सरकारका निकायहरूसँगको लबिइङलाई तीव्र पारेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।