विराटनगर । भारतबाट जोगवनी हुँदै नेपाल प्रवेश गर्ने नाकामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। मोरङ प्रशासनले सीमा सुरक्षालाई थप चुस्त बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न आजदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि अनिवार्य परिचयपत्र वा विश्वासिलो आधार पेस गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरेको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ) सरोज कोइरालाले केही दिनअघिदेखि सुरु गरिएको यो व्यवस्थालाई आजबाट नियमित रूपमा जाँच गरिने जानकारी दिनुभयो। सप्रजिअ कोइरालाका अनुसार दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न यो प्रक्रिया थालिएको हो। “यो एउटा नियमित सुरक्षा प्रक्रिया हो। दुवै मुलुकको हितका लागि सीमामा हुने गैरकानुनी कार्य रोक्न हामीले सतर्कता अपनाएका हौं,” उहाँले भन्नुभयो।
सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितको टोली स्वयं नाकामा उपस्थित भएर चेकजाँचको अनुगमन गरेको थियो। नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने सुरक्षा जाँचका लागि दुईवटा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।
विशेष गरी भारतको पश्चिम बंगालस्थित मालदह क्षेत्रमा रोहिंग्या समुदायको बाक्लो बसोबास रहेको र त्यहाँको चुनावी नतिजापछि ती समुदायका व्यक्तिहरू अन्यत्र बसाइसर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। कलकत्ताबाट जोगवनीसम्म साताको तीन दिन रेल आउने भएकाले ती दिनहरूमा रोहिंग्याहरू नेपाल छिर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले विशेष सतर्कता अपनाएको अनुमान गरिएको छ ।

सप्रजिअ कोइरालाले सीमा क्षेत्रमा हुने अन्य अपराध न्यूनीकरणका लागि पनि यो जाँच प्रभावकारी हुने बताउनुभयो। प्रशासनले भारततर्फ जाने वा नेपाल फर्कने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा बोक्न र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ। चेकजाँचमा कडाइ गरिएपछि सीमा क्षेत्रमा हुने अनावश्यक घुसपैठ र आपराधिक गतिविधिमा कमी आउने विश्वास लिइएको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।