विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरीको राजविराज नगरपालिका–३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार राजविराज–८ बाट नियन्त्रणमा लिएको हो ।
मन्त्री यादवले उनलाई गत चैत २७ गते मात्रै हलुका सवारी चालक पदमा नियुक्त गरेका थिए । मिँयामाथि एक व्यक्तिलाई एकान्त ठाउँमा बन्धक बनाई, कुटपिट गरेको र नग्न बनाएर भिडियो खिचेको गम्भीर आरोप छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको तीव्र आलोचना भएको थियो ।
सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार जिल्ला अदालतबाट ७ दिनको म्याद लिई मिँयामाथि अनुसन्धान अगाडि बढाइएको छ । आफूलाई ‘जेनजी’ आन्दोलनको अगुवा दावी गर्ने मिँयालाई राजनीतिक संरक्षणमा जोगाउन खोजिएको आरोप समेत लागेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।