लोड हुँदैछ...

मेनु

विश्वकप लिग-२: घरेलु मैदानमा आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा

विश्वकप लिग-२: घरेलु मैदानमा आज नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा

विराटनगर– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा आज नेपालले स्कटल्यान्डको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुने यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

तालिकाको सातौँ स्थानमा खुम्चिएको नेपालका लागि विश्वकप छनोटको सम्भावना जीवित राख्न र एकदिवसीय (ओडिआई) मान्यता जोगाउन यो शृंखला निर्णायक हुनेछ। हाल नेपालको १८ अंक छ भने विपक्षी स्कटल्यान्ड ३४ अंकका साथ दोस्रो स्थानमा छ।

नेपाली टोलीमा ब्याटिङ मजबुत बनाउन यसपटक इशान पाण्डेलाई समावेश गरिएको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी लयमा रहे पनि ओपनर र कप्तान रोहित पौडेलको फर्म नेपालका लागि चिन्ताको विषय बनेको छ। यता, नेपाल आउनुअघि अभ्यास खेलमा नेपाल ‘ए’ सँग पराजित भएको स्कटल्यान्डले एसियाली कन्डिसनमा भिज्न पाकिस्तानका पूर्वकप्तान अझर अलीलाई परामर्शदाता नियुक्त गरेको छ।

नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित यस शृंखलामा नेपालले दुवै टोलीसँग २–२ खेल खेल्ने तालिका छ। घरेलु मैदानको फाइदा उठाउँदै नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।