लोड हुँदैछ...

मेनु

सरकारी कार्यालयलाई ‘चिटिक्क’ बनाउने अभियान आजदेखि:

१०० मिटर वरपरको ढल सफा गर्ने जिम्मा पनि कार्यालयकै

१०० मिटर वरपरको ढल सफा गर्ने जिम्मा पनि कार्यालयकै

विराटनगर । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत आज (सोमबार) देखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु गर्दैछ। सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालय तथा सार्वजनिक शैक्षिक संस्थाहरूलाई मर्यादित र वातावरणमैत्री बनाउन यो अभियान सञ्चालन गर्न लागिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शन अनुसार अब सरकारी कार्यालयहरूले आफ्नो कार्यकक्ष मात्र नभई बाहिरी परिसरको सरसफाइमा पनि अनिवार्य ध्यान दिनुपर्नेछ। नयाँ व्यवस्था अनुसार कार्यालय परिसरको एक सय मिटर वरिपरिको नाली र ढल सफा राख्ने जिम्मेवारी सम्बन्धित कार्यालयकै हुनेछ। साथै, पार्किङ क्षेत्र सुधार गर्ने र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने निर्देशन दिइएको छ।

कार्यालयले के-के गर्नुपर्छ ?
मार्गदर्शन अनुसार कार्यालयका चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङरोगन गरी मुख्य प्रवेशद्वार आकर्षक राख्नुपर्नेछ। नागरिक बडापत्र र सूचना बोर्डहरू स्पष्ट हुनुपर्नेछ। शौचालयलाई दुर्गन्धरहित बनाउँदै साबुन-पानी र सेनेटरी डिस्पोजलको व्यवस्था गर्नुपर्नेछ। कार्यालयले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्नुपर्नेछ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।

यस राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले वीर अस्पतालबाट गरेकी छन् । अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र साप्ताहिक कार्यतालिका बनाई मासिक स्वमूल्याङ्कन गर्नुपर्नेछ। यसको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।