लोड हुँदैछ...

मेनु

क्यानले गर्यो ६ निर्णय, केही केन्द्रीय सदस्यको बहिष्कार

क्यानले गर्यो ६ निर्णय, केही केन्द्रीय सदस्यको बहिष्कार

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को कोशी प्रदेशको विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाले नेपाली क्रिकेटको विकास र संरचनागत सुधारका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। आइतबार सम्पन्न उक्त सभाले विशेष गरी तल्लो तहको क्रिकेटलाई मजबुत बनाउन र खेलाडीहरूलाई प्रोत्साहित गर्न नयाँ योजनाहरू अघि सारेको छ।

संघले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) बाट प्राप्त भएको आम्दानीलाई देशभरका ४५ वटै जिल्ला क्रिकेट संघहरूमा परिचालन गर्ने निर्णय गरेको छ। जसअनुसार प्रत्येक जिल्ला संघले २ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्राप्त गर्नेछन्। यसका साथै, जिल्लाहरूले गर्ने क्रिकेट गतिविधि र कार्यक्रमहरूको प्रभावकारिताका आधारमा थप स्कोर कार्ड ग्रान्टसमेत उपलब्ध गराउने नीति संघले लिएको छ।

खेलाडीहरूको सम्मान र प्रोत्साहनका लागि क्यानले यसै वर्षदेखि हरेक वर्षको डिसेम्बरमा क्यान एनुअल अवार्ड्स आयोजना गर्ने घोषणा गरेको छ। यस अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी (पुरुष र महिला), लाइफ टाइम एचिभमेन्ट अवार्ड र मोमेन्ट अफ द इयर जस्ता विधाहरूमा पुरस्कृत गरिनेछ।

आर्थिक र प्रशासनिक पक्षतर्फ, साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदनका साथै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो संस्करणको आय–व्यय विवरणलाई सर्वसम्मतिले पारित गरेको छ। त्यसैगरी, सन् २०२६ का लागि संघको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेटलाई समेत सभाले अनुमोदन गरेको छ।

भविष्यका योजनाहरूलाई मध्यनजर गर्दै, यदि आगामी अवधिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) वा एसियाली क्रिकेट परिषद (एसीसी) बाट थप कार्यक्रमहरू प्राप्त भएमा त्यसलाई वार्षिक बजेट र कार्यक्रममा समायोजन गरी कार्यान्वयन गर्ने पूर्ण अख्तियारी केन्द्रीय कार्यसमितिलाई दिइएको प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।