विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि संस्थाको विवरण नबुझाउने र सम्पर्कमा नआउने १४ वटा सहकारी संस्थाहरूलाई खारेज गर्ने तयारी गरेको छ । महानगरको सहकारी शाखाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै आगामी जेठ २० गतेभित्र आवश्यक प्रक्रिया पूरा नगरे ती सहकारीहरूको दर्ता स्वतः खारेज गर्ने अन्तिम चेतावनी दिएको हो ।
विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७४ (दोस्रो संशोधन, २०८० सहित) को दफा ५२ को उपदफा (१) बमोजिम नियमित रूपमा बुझाउनुपर्ने विवरणहरू नबुझाएपछि महानगरले यी संस्थाहरूलाई ‘निष्कृय’ सूचीमा राखेको थियो । यसअघि गत चैत २७ गते १५ दिने म्याद दिएर स्पष्टीकरण माग गर्दासमेत कुनै प्रतिक्रिया नआएपछि महानगरले ऐनको दफा ६७ बमोजिम खारेजीको प्रक्रिया अघि बढाएको हो ।
खारेजीको प्रक्रियामा परेका सहकारीहरूमा विराटनगर–७ का गोर्खा बचत तथा ऋण, नयाँजीवन बचत तथा ऋण र रारा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । त्यस्तै, विराटनगर–२ का युनिक बचत तथा ऋण र सिम्रिक बचत तथा ऋण, विराटनगर–११ का निलकमल बचत तथा ऋण र सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था पनि यो सूचीमा छन् ।
महानगरले विराटनगर–१४ को जुनतारा बचत तथा ऋण, वडा नम्बर १२ को ताजा तरकारी तथा फलफूल उत्पादन, वडा नम्बर ९ को नागरिक बचत तथा ऋण, वडा नम्बर १० को प्राइम बचत तथा ऋण, वडा नम्बर १५ को शिवम् बचत तथा ऋण, वडा नम्बर १३ को सामूहिक बचत तथा ऋण र वडा नम्बर ८ को स्वागतम् बचत तथा ऋण सहकारी संस्थालाई पनि खारेजीको पूर्व–चेतावनी दिएको छ ।
महानगरका अनुसार यी संस्थाहरूले जेठ २० गतेभित्र आफ्नो आधिकारिक धारणा र आवश्यक कागजात अद्यावधिक नगरेमा सहकारी ऐनको दफा ६७ को उपदफा (४) बमोजिम दर्ता खारेजीको निर्णय गरिनेछ । खारेजीपछि सहकारीको सम्पत्ति र दायित्वको व्यवस्थापनका लागि महानगरले लिक्विडेटर नियुक्त गरी कानुनी प्रक्रिया अगाडि बढाउने व्यवस्था ऐनमा रहेको छ । सदस्यहरूको बचत सुरक्षा र सहकारी क्षेत्रमा सुशासन कायम गर्न महानगरले यो कदम चालेको प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।