धरान । धरान उपमहानगरपालिकामा लामो समयदेखि प्रतिक्षा गरिएको ‘नगर अस्पताल’ निर्माणका लागि कानुनी र प्राविधिक अड्चन हटेको छ । वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले धरान-१, छाता चोकस्थित कित्ता नम्बर २४ को १–४–१३–१ बिघा (८३५१.७० वर्ग मिटर) जग्गा नगर अस्पतालका लागि उपलब्ध गराउने प्रस्ताव स्वीकृत गरेसँगै अस्पताल निर्माणको बाटो खुलेको हो ।
यसअघि उपमहानगरपालिकाले उक्त ऐतिहासिक स्थानमा नगर अस्पताल बनाउने जमर्को गर्दा जग्गाको स्वामित्व र स्थान छनोटका विषयमा केही विवाद र विरोध उत्पन्न भएको थियो । साविकमा धरान अस्पतालकै नाममा रहेको उक्त जग्गा वि.सं. २०७४ सालमा मन्त्रिपरिषद्को निर्णयबाट बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा नामसारी भएपछि कानुनी जटिलता थपिएको थियो ।
उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा धरानका आम नागरिकको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै सोही पुरानो स्थानमा अस्पताल स्थापना गर्न माग गर्नुभएको थियो । पत्रमा उल्लेख भएअनुसार, उक्त जग्गा लामो समयसम्म प्रयोगविहीन रहँदा दुर्व्यसनीहरूको अखडा बन्दै गएको र हाल त्यहाँ उपमहानगरपालिकाले पुराना भवन मर्मत गरी स्वास्थ्य चौकी र वर्थिङ्ग सेन्टर सञ्चालन गरिरहेको छ ।
धरानभित्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन र स्वास्थ्य बीमा कार्यक्रमका लागि ‘प्रथम सेवा विन्दु’ (First Service Point) का रूपमा काम गर्न नगर अस्पतालको खाँचो रहेको उपमहानगरले जनाएको छ । बीपी प्रतिष्ठानमा चाप बढ्दो रहेको अवस्थामा नगर अस्पतालले सामान्य उपचारका लागि नागरिकलाई सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।
विवादको अन्त्य र नयाँ सुरुवात
छाता चोकमा अस्पताल बनाउने विषयमा यसअघि केही स्थानीय र राजनीतिक वृत्तबाट विरोध भए पनि मन्त्रिपरिषद्को पछिल्लो निर्णयले सबै अन्योल चिरेको छ । जग्गाको भोगाधिकार औपचारिक रूपमा उपमहानगरपालिकाले पाउने भएपछि अब अत्याधुनिक भवन र उपकरणसहितको नगर अस्पताल निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढ्ने देखिएको छ ।
कार्यवाहक नगर प्रमुख बेघाले सरकारको यो निर्णयलाई धरानबासीको जितको रूपमा लिँदै अब छिट्टै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरिने संकेत दिनुभएको छ । यो निर्णयसँगै धरान-१ को उक्त क्षेत्र अब स्वास्थ्य सेवाको मुख्य केन्द्रको रूपमा पुनर्जीवित हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।