लोड हुँदैछ...

मेनु

उद्योगीको मागः बजार सुहाउँदो पाठ्यक्रम र दक्ष जनशक्ति

उद्योगीको मागः बजार सुहाउँदो पाठ्यक्रम र दक्ष जनशक्ति

विराटनगर । नेपालका उद्योगीहरूले वर्तमान श्रम बजारको आवश्यकतालाई सम्बोधन गर्न सरकार र शैक्षिक क्षेत्रले उद्योगको माग अनुसारको पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिएका छन् । मोरङको सुन्दरहरैंचामा आयोजित‘सि.आई.एम. नेपाल मानव संसाधन सम्मेलन २०२६’ को दोस्रो संस्करणको उद्घाटन सत्रमा सहभागी उद्योगी तथा विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।

उद्योग संगठन मोरङद्वारा आयोजित दुई दिने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले आर्थिक र औद्योगिक विकासका लागि सक्षम र उत्तरदायी मानव संसाधनको भूमिका महत्वपूर्ण हुने बताए । उनले सरकार शिक्षा, सीप र उद्योगबीचको समन्वय सुदृढ गर्दै युवालाई रोजगारीसँग जोड्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग र श्रम बजारबीचको दूरी घटाउनुपर्नेमा जोड दिए । उनले उद्योगहरूले दक्ष जनशक्ति नपाउने र पाए पनि नटिक्ने गम्भीर चुनौती भोगिरहेको बताउँदै भने, ‘यो केवल श्रमिक अभावको समस्या मात्र होइन, यो दक्षता, कार्यसंस्कृति, सुरक्षा र विश्वाससँग जोडिएको विषय हो । अब उद्योगहरू हामीलाई तयार जनशक्ति चाहिन्छ भन्ने सोचबाट बाहिर निस्केर आफैं सक्षम जनशक्ति निर्माण गर्ने संस्कार विकास गर्न अग्रसर हुनुपर्छ ।

सम्मेलनमा सहभागी उद्योगीहरूले सरकारलाई नीतिगत तहबाटै शैक्षिक संस्थाहरूको पाठ्यक्रम परिमार्जन गरी प्रयोगात्मक र बजारमुखी बनाउन आग्रह गरे । उनीहरूले शैक्षिक क्षेत्र र उद्योगबीच समन्वय गरी इन्टर्नशिप, प्रयोगात्मक तालिम र अनुसन्धानमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले प्रविधिगत परिवर्तनको यो युगमा मानव संसाधन व्यवस्थापनलाई रणनीतिक रूपमा अगाडि बढाउनुपर्ने र निजी क्षेत्रले सीप विकासमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले व्यवहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

स्विस सरकारको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा सुनसरीमोरङ औद्योगिक करिडोरका १५० भन्दा बढी सञ्चालक, व्यवस्थापक र मानव संसाधन प्रमुखहरूको सहभागिता छ । दुई दिनसम्म चल्ने १० वटा सत्रमा विज्ञहरूले डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्व र औद्योगिक विकासमा मानव संसाधनको भूमिकाबारे अनुभव आदानप्रदान गर्नेछन् । सन २०२४ मा सुरु भएको यो सम्मेलनले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।