विराटनगर । नेपाल क्रिकेट फाउन्डेसन र कोशी प्रदेश क्रिकेट संघको आयोजनामा विराटनगरस्थित मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा जारी दोस्रो नेपाल हब पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हब र विराटनगर हब प्रवेश गरेका छन्।
शुक्रबार भएको लिगको अन्तिम खेलपछि अङ्क तालिकाको शीर्ष दुई स्थानमा रहँदै सिरहा र विराटनगरले फाइनलमा स्थान सुरक्षित गरेका हुन्। पहिलो खेलमा सिरहा हबले राजविराज हबलाई १ रनको रोमाञ्चक अन्तरले पराजित गर्यो। बिहान वर्षा भएपछि १० ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ गरेको सिरहाले ८ विकेट गुमाउँदै ५७ रन बनाएको थियो। सिरहाका कप्तान आयुष विकले सर्वाधिक २० रन बनाए। राजविराजका अजय यादव र नीतिश शर्माले समान ३–३ विकेट लिए।
५८ रनको लक्ष्य पछ्याएको राजविराजले निर्धारित ओभरमा ९ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो। राजविराजका निवेश मण्डलले १४ रन जोडे। सिरहाका अभिषेक रायले ३ विकेट र आयुष विकले २ विकेट लिए। खेलको ‘प्लेयर अफ द म्याच’ सिरहाका अलराउन्डर आयुष विक घोषित भए।
दोस्रो खेलमा इटहरी हबले अपराजित रहेको विराटनगर हबलाई २ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको विराटनगरले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियो। विराटनगरका अरुण मण्डलले अविजित ४० र आकाश यादवले १० रन जोडे। इटहरीका दिवस विष्टले ४ र असान खानले ३ विकेट लिए।
८० रनको लक्ष्य इटहरीले १८.३ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो। इटहरीका असान खानले १५ रन बनाए। विराटनगरका मनिष कामतले ३ तथा अरुण मण्डल र देवराज झाले २–२ विकेट लिए। खेलको ‘प्लेयर अफ द म्याच’ इटहरीका दिवस विष्ट घोषित भए।
लिग चरणको समाप्तिमा सिरहा ४ खेलमा ३ जित र १ रद्द खेलसहित ७ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो। विराटनगर ५ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनल पुग्यो। ४ अङ्क जोडेको राजविराज तेस्रो, ३ अङ्कको इटहरी चौथो र १ अङ्क मात्र जोडेको उदयपुर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।